चेतन विष्ट, कपिलवस्तु । १६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ लाई अहिले सम्म्कै उत्कृष्ट र विशेष बनाइने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले यस वर्षको महोत्सवलाई विशेष बनाइने बताएको हो ।
पत्रकार सम्मेलनमा बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । अध्यक्ष खाँणले महोत्सवको सफलताका लागि आम नागरिक, उद्योगी, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाका लागि सुरक्षा निकायसँग समन्वय, सेक्युरिटी कम्पनीसँग सम्झौता, सिसिटिभि क्यामेरा र ड्रोनमार्फत निगरानीको व्यवस्था मिलाइनेछ । साथै, ४० जना भन्दा बढी स्वयम्सेवक महोत्सव स्थलमा परिचालित हुनेछन् ।
सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्री ‘दिनेश’ ले महोत्सवले जिल्लाको पहिचान, सम्भावना र अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताउनुभयो । उहाँका अनुसार यस वर्षको महोत्सवमा कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, व्यापार मेला, मनोरञ्जनात्मक गतिविधि, निःशुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम तथा शैक्षिक कार्यक्रमहरू रहनेछन् ।
“कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी” भन्ने मूल नारासहित १६औं कपिलवस्तु महोत्सव आगामि मंसिर १८ गतेदेखि पौष १ गतेसम्म बाणगंगा नगरपालिका–४ जीतपुरस्थित बुद्धरंगशालामा सञ्चालन हुनेछ ।


