शितगंगा–१३ मा नगरस्तरीय तीज गीत प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । मौलिक लोककला तथा संस्कृतिको संरक्षणसँगै तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ मा नगरस्तरीय तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सिमलपानी सिर्जनशिल युवा क्लबको आयोजना तथा शितगंगा नगरपालिका–१३ को संरक्षकत्वमा ‘शितगंगा नगरस्तरीय तीज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना गर्न लागिएको हो ।

‘सिर्जनाको सम्मान, शितगंगाको सान; मौलिक लोककला संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रवद्र्धन गर्ने आयोजकको विश्वास छ । कार्यक्रमअन्तर्गत नगरस्तरीय तीज गीत प्रतियोगितासँगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक विशाल रायमाझी, गायिका सम्झना रणपाल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तीज गीत प्रतियोगितामार्फत स्थानीय महिला तथा कलाकारहरूको प्रतिभा प्रस्फुटन गराउने, मौलिक तीज गीत तथा लोकसंस्कृतिको संरक्षण गर्ने र नयाँ पुस्तालाई आफ्नो कला–संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमलाई मनोरञ्जनसँगै स्थानीय मौलिक संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमा अघि बढाइनेछ । कार्यक्रममा शितगंगा नगरपालिकाका विभिन्न क्षेत्रबाट कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिता रहने जनाइएको छ ।

सिमलपानी सिर्जनशिल युवा क्लबले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न स्थानीय बासिन्दा, कलाकार, सांस्कृतिक समूह तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *