बाणगंगा । बाणगंगा नगरपालिकाले नगर क्षेत्रमा ट्राफिक दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षाको अवस्था मजबुत पार्नका लागि इलाका प्रहरी कार्यालय पिपरालाई ब्यारिकेट र सिसी क्यामेरा जडानका सामग्रीहरू हस्तान्तरण गरेको छ।
नगर प्रमुख चक्रपाणी अर्यालले इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र जिसीलाई आज एक कार्यक्रमबीच २० थान ट्राफिक ब्यारिकेट र महत्वपूर्ण स्थानहरूमा सिसी क्यामेरा जडानका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नु भएको हो ।
नगरपालिकाले ट्राफिकको चाप बढी हुने मुख्य चोक तथा सार्वजनिक स्थानहरूमा ब्यारिकेट राखेर सवारी दुर्घटनाको जोखिम कम गर्ने लक्ष्य लिएको छ। साथै, नगरवासीको सुरक्षालाई थप प्रभावकारी बनाउन सिसी क्यामेरा जडानमार्फत निगरानी प्रणाली बलियो बनाउने योजना रहेको नगरप्रमुख अर्यालले जानकारी दिनुभयो।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं २ का अध्यक्ष विष्णु प्रसाद पौडेलले नगरको सुरक्षा प्रणालीलाई आधुनिक बनाउँदै लैजान नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले प्रहरीले गर्ने सुरक्षासम्बन्धी काममा नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक लोकेन्द्र जिसीले नगरपालिकाद्वारा प्रदान गरिएका सामग्रीहरू नगरको शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण सहयोग हुने बताउनुभयो। उहाँले नगरपालिकाको यस पहलप्रति धन्यवाद व्यक्त गर्दै प्रहरी प्रशासन अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


