कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. २ को बड्हरामा अवस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसमा प्लस टु र स्नातक तहमा अध्ययनरत विधार्थीहरुलाई सामी कार्यक्रम सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको नगरपालिकाका रोजगार संयोजक रविन चौधरीले जानकारी दिए ।

उक्त कार्यक्रम विदेशमा जानेहरु र उनीहरुको परिवारका सदस्यलाई सचेत र साक्षरता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको उनले जानकारी दिए ।

नगरप्रमुख केशव कुमार श्रेष्ठले अहिले युवाहरुमा विदेश जाने लहर चलेको भन्दै यो सबैका लागि चिन्ताको विषय बनेको बताए । राज्यले युवालाई देशमै स्वरोजगार बनाउने निति ल्याए मात्र युवा देशमै टिक्ने उनको भनाई छ । विदेश जाँदा सबैले आवश्यक ज्ञान, सिप हासिल गरेमात्र वैदेशिक रोजगार सहज हुने उनले बताए ।

उनले हरेक युवाहरुले देशमै सम्भावनाको खोजी गरेर देशमै स्वरोजगार बन्ने दृढ संकल्प लिन आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित, विश्वासिलो र सहज बनाउन नगरले आफ्नै लगानीमा हरेक बर्ष कार्यक्रम संचालन गर्दै आएको बताए ।

प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको बताए ।

उनले विदेश जाँदा आवश्यक परामर्श तथा जानकारी लिनुपर्ने बताए । समयमै सम्पुर्ण जानकारी प्राप्त भएपछि भविष्यमा हुन सक्ने सम्भावित घटनाको सहज रुपमा समाधान खोज्न सहज हुने उनको भनाई छ ।

उनले स्वदेशमै केही बर्ष कडा परिश्रम गरेर आफ्नो भविष्य सुरक्षित गर्ने दिशातर्फ लाग्न सबैलाई आग्रह समेत गरे ।

बुद्धभूमि नगरपालिका वडा नं.२ का वडाध्यक्ष सुरज प्रताप राणाले वैदेशिक रोजगारीमा गएकाहरुलाई सुरक्षित वातावरणमा रोजगारीको अवस्था सिर्जना गराउन यस्ता कार्यक्रम फलदायी भएको बताए ।