जनहित अनलाइन। लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको बताउँदै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले सामाजिक सञ्जाल मार्फत खहरो टिप्पणी गरेका छन् । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति बिना छिमेकी देशहरू बिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको उनले विरोध गरेका छन ।
अधिकारीले २०७७ सालमा नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न अङ्गका रूपमा समावेश गरिसकेको स्मरण गर्दै, यो भूभागमा कुनै पनि विकसित वा शक्तिशाली देशले गिद्देदृष्टि नराख्न चेतावनी दिए । नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता माथि आघात पुग्ने गतिविधिको प्रतिवाद र सशक्त विरोध गर्ने उनले बताए ।
भारतले आफ्नो सीमाभित्र पर्ने अडान राखे पनि सो भूभाग ऐतिहासिक प्रमाणसहित नेपालकै भएको दाबी गर्दै अधिकारीले अब उच्चस्तरीय समझदारी मार्फत समस्याको समाधान निकाल्नुपर्ने सुझाव समेत दिएका छन् ।
रास्वपाले लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश रहेको भन्दै विज्ञप्ति समेत निकालेको छ ।



