कपिलवस्तु। कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले युवाको भविष्य सुरक्षित गर्न आफूले जित्न आवश्यक रहेको बताएका छन्।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै शर्माले देशमा बढ्दो बेरोजगारीका कारण ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन हुन बाध्य भएको भन्दै त्यसलाई रोक्न ठोस योजना आवश्यक रहेको बताए। “युवाको भविष्यलाई देशमै सुनिश्चित गर्न मेरो जित आवश्यक छ,” उनले भने, “हामीले रोजगारी, सीप विकास र उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौं।”
उनका अनुसार कपिलवस्तु क्षेत्र नं.१ का युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने गरी कृषि, साना उद्योग र व्यवसाय प्रवर्द्धनका कार्यक्रम अघि बढाइनेछ। यसका लागि स्थानीय स्रोत–साधनको उपयोग गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गर्दै शर्माले जनताको साथ र विश्वासका आधारमा आफू चुनावमा विजयी हुनेमा आशावादी रहेको बताए। उनले चुनाव जितेपछि जनताको अपेक्षाअनुसार पारदर्शी र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता समेत व्यक्त गरे।
हाल उनी कपिलवस्तु क्षेत्र नं।१ का विभिन्न गाउँ तथा बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्।


