बिष्णु खरेल , कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ८ मा रहेको बाणगङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत ब्याचलर तहका ४० जना विद्यार्थीहरूका लागि ४० दिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियनको पहल तथा बाणगङ्गा नगरपालिका वडा नम्बर ८ सहयोगमा तालिम आयोजना गरिएको स्ववियु सभापति शिव शर्मा शिशिर ले जनहित अनलाइन साङ्ग बताउनुभयो ।
कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका का वडा अध्यक्ष बाबुराम अर्यालले वर्तमान समयमा कम्प्युटर ज्ञान अत्यावश्यक बनेको भन्दै विद्यार्थीहरूलाई सीपमूलक तालिममार्फत सक्षम बनाउन वडा कार्यालयले सहयोग गरेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिव शर्मा शिशिर ले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक तथा प्रविधिमैत्री सीप आवश्यक रहेको बताउँदै सोही उद्देश्यले निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थी लक्षित रचनात्मक तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता सीपमूलक तालिमले अध्ययनसँगै भविष्यको रोजगारीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आयोजक पक्षले आगामी दिनमा पनि विद्यार्थी लक्षित विभिन्न रचनात्मक तथा सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

