बाणगंगाको सुठौलीमा एकिकृत घुम्ती शिविर, गाउँमै सेवा पाएको भन्दै स्थानीय हर्षित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगाको सुठौलिमा आज सोमबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजना र वडा नं ६ को समन्वयमा भएको उक्त शिविरमा एक हजार ३५ जना सेवाग्राहीहरुले सेवा लिएका छन ।

ज्ञानोदय आधारभूत विद्यालयमा भएको उक्त शिविरमा १८२ जनाले पशु सेवा सम्बन्धी सेवा, १६७ जनाले कृषि विकास सम्बन्धी सेवा, ३३१ जनाले आयुर्वेद सम्बन्धी सेवा, २५० जनाले स्वास्थ्य सम्बन्धी सेवा, ५ जनाले फर्म तथा व्यवसाय दर्ता नविकरण सम्बन्धी परामर्श सेवा, २४ जनाले ज्येष्ठ नागरिक परिचय पत्र सम्बन्धी सेवा, ७१ जनाले सुरक्षित आप्रवासन ९सामी० तथा रोजगार परामर्श सेवा र ५ जनाले योजना सम्झौता परामर्श र कागजात संकलन सम्बन्धि सेवा लिएका छन् ।

बाणगंगाका नगरप्रमुख चक्रपाणी अर्यालले सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई सार्थकता दिन र नगरबासीको आवश्यकता तथा सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको बताए । उनले नगरले आयोजना गरेको निशुल्क घुम्ती सेवा शिविरमा स्थानीयको उत्साहजनक उपस्थिति देखिएको बताउँदै यस उपस्थितिले आगामी दिनमा नगरलाई घुम्ती सेवा संचालनको लागि थप ऊर्जा मिलेको बताए ।

नगरउपप्रमुख रिता कुमारी चौधरीले सेवा पहुँचमा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी एकीकृत घुम्ती सेवा प्रदान गर्न नगर प्रतिबद्ध रहेको बताईन् ।
‘पालिकाबासीको सहजताका लागि विगतका बर्षदेखि नै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । वृद्धवृद्धा तथा असक्तलाई समेत गाउँमै सेवा उपलब्ध गराउने गरेका छौँ । यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजनामा छौँ,’ उनले भनिन् ।

यता सेवाग्राहीहरुले स्थानीय स्तरमै सेवा प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका थिए । उक्त शिविरमा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीसहितका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *