बाणगंगामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । जलवायु प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धिू भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ कपिलवस्तुको बाणगंगा नगरपालिका–११ मर्थीमा सम्पन्न भएको छ। श्री लक्ष्मी कृषक समूह, बाणगंगा–११ ओदारीको समन्वय तथा बाणगंगा नगरपालिका कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा धान उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग तथा कृषि व्यवसायीकरणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले कपिलवस्तुमा सिँचाइको सुविधा विस्तार, गुणस्तरीय मल तथा बीउको सहज उपलब्धता सुनिश्चित गर्दै कृषि क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले धान उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नेपाल सरकार र बाणगंगा नगरपालिकाले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा कृषक दिवसका रूपमा मनाउँदै आएको उल्लेख गर्दै किसानको श्रम, योगदान र सम्मानका लागि यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।
उपप्रमुख रीता कुमारी चौधरीले स्थानीय सरकार किसानहरूको हितमा निरन्तर काम गरिरहेको बताउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न आधुनिक प्रविधिसहित उत्पादन वृद्धि गर्न सबै किसान एकजुट हुनुपर्नेमा जोड दिनुभयो।प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले धान उत्पादनले पोषण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै बाणगंगालाई पोषणमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। कृषि विकास शाखा प्रमुख लेषबहादुर केसीले धान नेपालीको प्रमुख खाद्यान्न मात्र नभई संस्कृति र परम्परासँग जोडिएको बाली भएकाले आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्दै धान खेतीलाई दीर्घकालीन रूपमा व्यवसायीकरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोखरेल तथा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष सालीकराम भुसालले बढ्दो धान आयातप्रति चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री, उत्पादनमुखी र व्यवसायिक कृषि प्रणाली विकास गर्न सबै सरोकारवाला निकाय तथा नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, उद्योगी–व्यवसायी, संघसंस्थाका प्रतिनिधि, बडघर तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। श्री लक्ष्मी कृषक समूहकी अध्यक्ष सोमरानी थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कृषि अर्थ अधिकृत देवीराम बेल्बासेले गर्नुभएको थियो।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *