कपिलवस्तु । नेपाली महिलाको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायकद्वय पूर्णचन्द्र परियार र सम्झना रणपालको नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक भएको छ। मौलिक लय, शब्द र नेपाली ग्रामीण परिवेशलाई आधार बनाएर तयार पारिएको उक्त गीतले तीजको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
‘कम्मर मरक्कै’मा पूर्णचन्द्र परियार र सम्झना रणपालको स्वर रहेको छ। गीतमा जीवन परियारको संगीत तथा गोविन्द अनेकको शब्द र संगीत संयोजन रहेको छ। मौलिक तीज संस्कृतिको स्वाद दिने गरी तयार पारिएको गीतमा परम्परागत नेपाली लोकलय र तीजको उत्सवमय भावलाई प्राथमिकता दिइएको छ।
गीतको म्युजिक भिडियोमा ज्योति के.सी., गोविन्द के.सी. र सन्ध्या परियारले अभिनय गरेका छन्। भिडियोको छायांकन सुनिल विश्वकर्माले गरेका हुन् भने निर्देशन लोकेन्द्र शाहले गरेका छन्।
‘कम्मर मरक्कै’को छायांकन कपिलवस्तुको प्राकृतिक तथा सांस्कृतिक पहिचान बोकेका विभिन्न स्थानमा गरिएको छ। विशेषगरी मनकामना सामुदायिक वन र मनकामना संस्कृत विद्यापीठ (गुरुकुल) को रमणीय तथा मौलिक परिवेशलाई भिडियोमा समेटिएको छ। स्थानीय परिवेश, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पक्षलाई संयोजन गरेर भिडियो निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
पछिल्लो समय तीज गीतका नाममा मौलिकता हराउँदै गएको गुनासो भइरहेका बेला ‘कम्मर मरक्कै’ भने मौलिक लय र शब्दमा आधारित रहेको गायक पूर्णचन्द्र परियारले बताएका छन्। नेपाली मौलिक संस्कृति, तीजको भावना र लोकसंगीतको स्वादलाई जोगाउँदै दर्शक–श्रोतामाझ नयाँ कोशेली ल्याउने प्रयास गरिएको उनको भनाइ छ।
गायक परियारले तीजको अवसरमा सार्वजनिक गरिएको ‘कम्मर मरक्कै’लाई हेरेर, सुनेर तथा प्रतिक्रिया दिएर साथ दिन सम्पूर्ण दर्शक–श्रोतासँग आग्रह गरेका छन्। उनले गीतले तीजको सांगीतिक माहोलमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
मौलिक शब्द, लोकलय, आकर्षक प्रस्तुति र कपिलवस्तुको प्राकृतिक तथा सांस्कृतिक परिवेशलाई समेटिएको ‘कम्मर मरक्कै’ तीज विशेष सांगीतिक कोशेलीका रूपमा दर्शक–श्रोतामाझ पुगेको छ।
-भिडियो

