कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित जनता माध्यमिक विद्यालय, पिपराले कक्षा-१२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार विद्यालयमा आयोजित विशेष समारोहका बीच १ सय जना उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्रसहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सफलताको पहिलो चरण पार गरेका विद्यार्थीलाई अझै उच्च शिक्षामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भने, “यो केवल सुरुवात हो, निरन्तर मेहनत र अनुशासनले भविष्य अझ उज्ज्वल बन्छ।”
उनले बाणगंगाका शैक्षिक संस्थाहरु हरेक दृष्टिकोणले अब्बल रहेको भन्दै उच्च शिक्षा पनि यहाँकै क्याम्पसहरुलाई छनोट गरेर अघि बढ्न आग्रह गरे ।
वडा नं.२ का वडाध्यक्ष तथा जनता क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै आएको उल्लेख गर्दै भने, “हाम्रो उद्देश्य गुणस्तरीय शिक्षा सबैसम्म पुगोस् भन्ने हो, यसका लागि पूर्वाधार र शैक्षिक गुणस्तर दुवैमा सुधार भइरहेको छ ।”
जनता क्याम्पसका प्रमुख उज्जल अधिकारीले विद्यार्थीलाई ज्ञानसँगै नैतिकता र सामाजिक जिम्मेवारीमा पनि अग्रसर हुन सुझाव दिए।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।


