श्रीमतीको हत्या गरेर आफैँले फोन गरी प्रहरीलाई जानकारी गराएपछि…

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ, ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा महिलाको हत्या भएको छ भने उनका श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार शनिबार मध्यराति करिब १ बजे ४१ वर्षीया रविना ठाडाको हत्या भएको हो।श्रीमतीको हत्या गरेर आफैँले फोन गरी जानकारी गराएपछि ४२ वर्षीय दानसिंह ठाडालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दानसिंहको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’दानसिंहले फोन गरेर आफ्नो घरको ठेगाना दिएको प्रहरीको भनाइ छ।

प्रहरीलाई फोन गर्नुअघि ठाडाले आफूसँग फोन नम्बर मागेको वीरेन्द्रनगर नगरपालिका–१३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालाले बताए। ‘राति मसँग पनि उसले नम्बर मागेको थियो। घरपरिवार सबैलाई फोन गरेको रहेछ। नेपाली सेनाको जागिरबाट रिटायर्ड भएको केही वर्ष मात्रै भएको थियो।’

वडाध्यक्ष कोइरालाका अनुसार दानसिंहले सुतेकै अवस्थामा दाउराले हानेर हत्या गरेको जस्तो देखिएको छ।

दानसिंहले मादक पदार्थ पिउन छाडेको एक हप्ताजति मात्र भएको वडाध्यक्षको भनाइ छ।

दानसिंहको घरमा उनका श्रीमान–श्रीमती मात्र बस्थे।उनका तीन छोरीमध्ये एक जापान छिन् भने दुइटाको बिहे भएको छ। छोरा दुबईमा छन्।

यस्तै दानसिंहले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी चौकी करेखोलाबाट खटिएको टोलीले आइतबार बिहान २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको छ। रविनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। ठाडाले किन श्रीमतीको हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *