काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा वीरगञ्जकी बी(टेक प्रथम वर्षकी छात्रा प्रिशा साहको शव रहस्यमय अवस्थामा भेटिएको छ। प्रहरी घटनास्थल पुग्नुअघि नै कलेज प्रशासनले उनको शव उठाएर अन्यत्र लगेको पाइएपछि घटना थप रहस्यमय बनेको छ।

ओडिशाटीभी अनलाइनका अनुसार कलेज प्रशासनले छात्रा साहको शव होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा भेटिएको दाबी गरेको थियो। तर, प्रहरीले शव ननिकालेको र पोस्टमार्टमका लागि अस्पताल पुर्याउँदा शव कलेजको मेडिकल इमर्जेन्सी वार्डबाट भुवनेश्वरस्थित एम्स अस्पतालमा ल्याइएको कन्स्टेबल निराकर खटुआले बताएका छन्।
यसले शव प्रहरीअघि नै कलेज कर्मचारीले निकालेको हुनसक्ने आशंका बढाएको छ। प्रहरी आयुक्त एस देवदत्त सिंहले साँझ ७ बजेतिर कोठामा कोही नभएको अवस्थामा विद्यार्थी झुण्डिएको जानकारी आएपछि अनुसन्धान भइरहेको बताएका छन्।
हालसम्म सुसाइड नोट फेला नपरेको र अनुसन्धान जारी रहेको उनको भनाइ छ। तर, प्रहरीले शव झुण्डिएको अवस्थामा नभई बेडमा रहेको विवरण दिएको र कलेज प्रशासनले प्रहरी आउनुअघि नै शव उठाएको तथ्यले घटनालाई थप शंकास्पद बनाएको छ।
कलेज प्रशासनले शव उठाएको भए प्रमाण नष्ट गर्ने वा अनुसन्धान प्रभावित पार्ने सम्भावना रहेको छ। यस विषयमा विश्वविद्यालयका अधिकारीहरूले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। तीन महिनाको अन्तरालमा सोही विश्वविद्यालयमा अर्की नेपाली छात्राको रहस्यमय मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू त्रसित भएका छन्।
मृतकका परिवार र नेपाली समुदायले घटनाको गम्भीर र स्वतन्त्र छानबिनको माग गरेका छन्। यस घटनाले भारतीय शिक्षालयहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र विश्वविद्यालय प्रशासनको जवाफदेहितामाथि प्रश्न उठाएको छ।
ओडिशा सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै परिवारलाई सहयोगको आश्वासन दिएको छ भने राष्ट्रिय मानव अधिकार आयोगले पनि घटनाको ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका सदस्य प्रियाङ्क कानुनगोले यसअघि पनि यस्तै घटनामा त्रुटि औंल्याइएको स्मरण गराउँदै आयोगले पुनः घटनाको अनुसन्धान गर्ने बताएका छन्।


