रुकुमपश्चिम। रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो।
अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज ९मङ्गलबार० बिहान ८स्१५, ८स्३७ र ९स्०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो। जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा हुन्। स्टाफ नर्स ओलीका अनुसार पुनले समय पूरा नहुँदै ९करिब २८ हप्तामै० तीन बच्चाको जन्म दिनुभएको हो। सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ।
सुत्केरी व्यथा लागेर आफैँ अस्पताल पुग्नुभएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य छ। सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र छ। तौल पनि कम र श्वासप्रश्वासमा केही समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाइएको उहाँले जानकारी दिनुभयो।
स्टाफ नर्स ओलीका अनुसार गाउँपालिका अस्पताल स्थापना भएयता तिम्ल्याहा बच्चा जन्मिएको पहिलो पटक हो। जुम्ल्याहन बच्चा जन्माएको घटना फेस गरेको भएता पनि पहिलोपटक तिम्ल्याहा बच्चा जन्मिएको घटना फेस गरेको उहाँले जनाउनुभयो।
गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले तिम्ल्याहा बच्चा विरलै जन्मिने गरेको बताउनुभयो। सुत्केरी र नवजात शिशुलाई गाउँपालिका एम्बुलेन्समार्फत अस्पताल इन्चार्ज कर्णवीर केसीको साथमा नेपालगञ्ज लगिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवती, सुत्केरी र दैवी प्रकोपमा परेर बिरामी तथा घाइतेहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ।


