नवलपरासी पश्चिम । गएराति परेको असिना पानीले पश्चिम नवलपरासीमा गहुँ र तरकारीमा क्षति पुर्याएको छ ।सुनवल, रामग्राम, पाल्हिनन्दन, प्रतापपुर क्षेत्रमा असिनाले लाखौं रुपैयाँको तरकारी र गहुँमा क्षति पुर्याएको हो ।
सबैभन्दा बढी क्षति गहुँबालीमा पुर्याएको छ । काट्ने समय हुन लागेको गहुँमा असिना पर्दा काम नलाग्ने अवस्था भएको छ । रामग्राम नगरपालिकाको वडा नम्बर १० ,११ , १२ , १३ मा धेरै क्षति पुर्याएको छ ।
वडा नम्बर १७ तरकारी पकेट क्षेत्रमा लगाएको लौका, गोडभेंडा, काँक्रा, काउली र लहरे तरकारी असिनाले नष्ट गरेको छ । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले असिनाले किसानको बालीनालीमा पुर्याएको क्षतिको विवरण संकलन गर्न वडा कार्यालयलाई निर्देशन दिएको बताए ।
क्षतिको विवरण आएपछि पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने नगरापलिकाले जनाएको छ । असिना पानीले सयौं बिघामा लगाएको गहुँ र लाखौं मूल्यको तयारी अवस्थामा रहेको तरकारी नष्ट भए पनि आधिकारिक तथ्यांक भने सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्रसँग छैन । कृषि ज्ञान केन्द्र परासीका प्रमुख रवीन्द्रनाथ चौवेका अनुसार सम्बन्धित पालिकामा क्षतिको विवरण संकलन भइरहेको बताए ।

