जनहित अनलाइन, कपिलवस्तु । ब्राइट लुम्बिनीको १३औँ वार्षिक उत्सवको अवसरमा प्रथम ब्राइट नृत्य प्रतियोगिता हुने भएको छ। कपिलवस्तुको बाणगङ्गा जितपुरस्थित ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनको १३औँ वार्षिक उत्सवको अवसरमा एक खुला नृत्य प्रतियोगिता हुने भएको हो। लामो समयदेखि दर्जनौँ विद्यार्थीहरूलाई भाषामा दक्ष बनाई जापान, कोरिया पठाउने साथै विभिन्न विषयका ट्युसन कक्षा सञ्चालन गराउँदै आएको यस संस्थाले हरेक वर्ष फरक–फरक तरिकाले आफ्नो वार्षिक उत्सव मनाउँदै आएको छ। सोही क्रममा १३औँ उत्सव नृत्य प्रतियोगितासँगै मनाउने तयारी गरिरहेको संस्थाका प्रमुख असिम क्षेत्रीले जानकारी दिनुभएको छ। उक्त प्रतियोगितामा नेपाली मौलिक तथा सांस्कृतिक प्रस्तुति रहनुपर्ने, नृत्य एकल हुनुपर्ने क्षेत्रीले बताउनुभयो। प्रतिभा पस्कने उत्कृष्ट मञ्चको रूपमा लिँदै सहभागिताका लागि सबैलाई निमन्त्रणा गर्नुभएको छ। कार्यक्रम यही असार १२ गते बिहान ११ बजेदेखि पिस हिमालयन रिसोर्ट, ठाकुरापुरमा हुने भएको छ। सोही कार्यक्रमलाई सफल बनाउन सबैलाई उपस्थितिका लागि क्षेत्रीले आग्रहसमेत गर्नुभएको छ।

