जनहित अनलाइन, कपिलबस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४, गजेहडा स्थित बाणगंगा माध्यमिक विद्यालयमा भोलि १३ गते वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । “युथ फर नेसन” भन्ने मूल नारासहित नव प्रभात युवा क्लबको आयोजना तथा फेमेलिडेन्टल केयर सेन्टर प्रा.लि र सौभाग्य फार्मेसीको प्राबिधिक सहयोगमा दन्त सहितको स्वास्थ्य शिविर सन्चालन हुन लागेको हो ।
शिविरमा प्राविधिक सहयोग अन्तर्गत “फेमेली डेन्टल” द्वारा विशेष डेन्टल शिविर सञ्चालन गरिनेछ । उक्त डेन्टल सेवाअन्तर्गत दाँत तथा मुखसम्बन्धी विभिन्न समस्या जाँच, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिनेछ । यसबाट दाँतसम्बन्धी समस्याबाट पीडित स्थानीयवासीलाई विशेष राहत पुग्ने अपेक्षा गरिएको डेन्टलका सञ्चालक कृष्ण पोख्रेलले बताउनु भयो ।
बाणगंगा माध्यमिक विद्यालय, ठाकुरपुरमा सञ्चालन हुने शिविर बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । शिविरमा विशेषज्ञ चिकित्सक डा राजन सुबेदी र डा चुडामणि रेग्मीद्वारा निःशुल्क जनरल स्वास्थ्य परीक्षण, सुगर जाँच, भिडियो एक्स–रे सेवा तथा आवश्यक औषधि वितरण गरिनेछ ।
उक्त शिविरमा सहयोगि सस्था अन्तर्गत श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समिति, बाणगंगा नगरपालिका वार्ड नं. ४, रोटरी क्लब अफ सेन्ट्रल, श्री बाणगंगा माध्यमिक विद्यालय, श्री भैरव सुनचाँदी पसल, सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु रहेका छन ।


