विजयनगरका ६ सय ६९ घरधुरीलाई ‘विद्युतीय चुलो’ प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले विजयनगर गाउँपालिकामा ६ सय ६९ घरधुरीलाई विद्युतीय चुलो वितरण गरिने भएको छ । आइतबार वडा नम्बर १ का नागरिकलाई विद्युतीय चुलाेे वितरण गरिएको छ । क्रमशः सबै वडामा लाभग्राहीहरुले फारम भरेर माग गरे अनुसार विद्युतीय चुलाे वितरण गरिनेेछ ।

गाउँपालिकामा सञ्चालित स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत वैकल्पिक ऊर्जा, हरित जलवायु कोष र गाउँपालिकाको लागत साझेदारीमा उक्त चुलो वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । लाभग्राहीलाई ७७ प्रतिशत अनुदानमा विद्युुतीय चुलाे गर्न लागिएको हाे । स्वच्छ ऊर्जा परिचालक तथा नवीकरणीय ऊर्जा शाखाका दामु विश्वकर्माले कार्यक्रम अन्तर्गत ६ सय ६९ जनालाई विद्युतीय चुलो वितरण गर्ने तयारी गरिएको जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वच्छ ऊर्जा प्रयोग बढाउनु आजको आवश्यकता भएको बताउँदै विद्युतीय चुलो प्रयोगले वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । स्वच्छ ऊर्जा प्रयोगले दाउरा र धुवाँको प्रयोग घटाउने तथा वातावरण संरक्षणमा टेवा पुग्ने अध्यक्ष थापाकाे भनाई छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गाउँपालिकाले वातावरणमैत्री प्रविधि प्रयोगलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको बताए । उनले वैकल्पिक उर्जा प्रयोगमा जाेड दिन आवश्यक रहेकाे जिकिर गरे ।

कार्यक्रममा वास संयोजक अर्जुन बेल्बासे लगायतले पनि स्वच्छ ऊर्जा प्रयोगले घरभित्रको धुवाँ प्रदूषण कम हुने र दाउराको प्रयोग घट्दै जाने विश्वास व्यक्त गरेका थिए ।गाउँपालिकाले आगामी दिनमा पनि स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *