दाङ । दाङको देउखुरीमा टिप्पर र अटो एक आपसमा ठोक्किदा अटो चालकको मृत्यु भएको छ भने ४ जना विद्यार्थी घाइते भएका छन् ।
आज विहान ७ बजेको समयमा गढवा गाउँपालिका १ कालाकाटे स्थित राप्ती पेट्रोल पम्प अगाडि ती दुवै गाडी एक आपसमा ठोक्किदा अटो चालक गढवा गाउँपालिका(१ कालाकाटे निवासी ३६ वर्षिय जोर कुमार पुनको मृत्युु भएको छ ।
गम्भीर घाइते भएका पुनको भालुवाङ अस्पतालमा उपचारका क्रममा विहान ८स्१५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । त्यसै गरि अटोमा सवार ४ जना विद्यार्थी मध्यम घाइते भएका छन् । घाइते हुनेहरूमा गढवा गाउँपालिका(१ कालाकाटे निवासी लिटिल एन्जल्स स्कुल भालुवाङमा अध्ययनरत १४ वर्षिय विवश घर्ती, सोही ठाउँ निवासी गोरखा आइडियल स्कुल लालमटियामा अध्ययनरत १५ वर्षिय सुशान्त पुन, सोही ठाउँकै सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू १५ वर्षिय दिप्सन रावत र १६ वर्षिय समर्पण पुन रहेको प्रहरीले बताएको छ ।
घाइते सवैलाई भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ । सितगंगा नगरपालिका(८ सातमारा देखि कालाकाटे तर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र विपरीत दिशाबाट आइरहेको रा १ ह ७३५५ नम्बरको अटो एक आपसमा ठोक्किएको थियो । टिप्परलाई इलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


