जनहित अनलाइन, कपिलवस्तु । फाल्गुन २१ गते हुने निर्वाचनको लागि यतिबेला कपिलवस्तुमा विभिन्न राजनैतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले मतदाता भेटघाटलाई तिव्र पारेका छन । ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा करिब दलगत र स्वतन्त्र गरि करिब १ सय जनाले उम्मेद्वारी दिएका छन । उनीहरुले आ–आफ्नै तरिका बाट मतदाता रिझाउने प्रयास गरिरहेका छन ।
यसैबिचमा जिल्लाको क्षेत्रनम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चुनाव लक्षित मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिव्र पारेका छ । राप्रपाका उम्मेद्वार शत्रुघन विलास सिंह कुर्मीलाई उम्मेद्वार बनाएको राप्रपाले राजा सहितको प्रजातन्त्र, हिन्दु धर्म लगायत विभिन्न मुद्धा लिएर चुनाव प्रचार गरिरहेको छ ।
दक्षिणी क्षेत्रमा बलियो मानिएको राप्रपाले अहिले उत्तरी क्षेत्रमा पनि अन्यलाई टक्कर दिने देखिएको छ । विगतको निर्वाचनमा झिनो मतले पराजय भोगेका कुर्मी अहिले संसद छिर्ने दाउमा देखिएका छन । निर्वाचनमा विजयी हुननसकेपनि निरन्तर यसै क्षेत्रमा स्थायी रुपमा बसोवास गर्दै आइरहेकोले पनि मतदाताले उनलाई विश्वास गर्ने आधार रहेको छ । उनी दक्षिणी क्षेत्रमा स्थायी वसोवास गर्ने भएकालेपनि दक्षिणमा उनको पकड राम्रो मानिन्छ ।
त्यस्तै दुर्गा प्रशाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ अभियान कपिलवस्तुले पनि अहिलेको निर्वाचनमा उनलाई सहयोग गर्ने भएपछि निर्वाचनको लागि उनलाई थप टेवा पुगेको छ । केहि दिन अघि मात्र प्रशाई नेतृत्वको समुहले शुद्धोधनको प्रगतिनगरमा एक कार्यक्रमको आयोजना गरि उनलाई सहयोग गर्ने बताएको थियो ।
घरदैलोको क्रममा देश अहिले संकटमा रहेको भन्दै यस्तो अफ्ठ्यारो परिस्थीति बाट पार लगाउन पनि राप्रपाका विचार र एजेण्डा नै उपयुक्त विकल्प रहेको उम्मेद्वार शत्रुघन विलास सिंह कुर्मीले बताए । आफु सधै जनताको बिचमा नै रहेको भन्दै यसपटकको निर्वाचनमा जनताले आफुलाई जिताउने उहाँले दावी गर्नुभयो । अहिले दक्षिणी क्षेत्रमा मात्र नभएर उत्तर तर्फ पनि राप्रपा प्रति जनविश्वास बढ्दो रहेकोले अहिले जनताको सेवा गर्न संसद छिर्ने उनले बताए ।

