अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर ११ ले नागरिकलाई सेवा दिनका लागि चौथो सेवा केन्द्र स्थापना गरेको छ। यस सेवा केन्द्रको स्थापनासँगै त्यस क्षेत्रका बासिन्दाले अब वडा कार्यालय पुग्न ५० किलोमिटरभन्दा बढीको दूरी धाउनु पर्ने छैन ।
१४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा सेवा प्रवाह सहज बनाउनका लागि दोबाटामा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो।
नयाँ सेवा केन्द्रले खासगरी वडाको पश्चिमी भेगका धानखोला, भक्कुचोक, जाबुने, दोबाटा, फेदी, चावेनेटा, बेलदमार, बोक्से गाईघाई, ओखटे, चावदीप र खर्क लगायतका करिब १३५ घरपरिवारलाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ।
नागरिकहरूको समय र पैसा दुवैको बचत हुने भन्दै स्थनीय नागरिकहरूलाई उनीहरूकै टोलमा सेवा पुर्याउने उद्देश्यका साथ दोबाटाको श्री तारा ज्योति आधारभूत विद्यालयको खाली भवनमा सेवा केन्द्र स्थापना गरिएको वडा अध्यक्ष नवराज भुसालले बताउनु भयो । ।
यसअघि पनि वडा नम्बर ११ ले खयरभट्टी र टिक्करि कपिलवस्तुको सीमा क्षेत्रबाट सेवा दिँदै आएको थियो। भुसालले अपाङ्ग, अति अशक्त र ८४ वर्ष माथिका नागरिकहरूलाई घरमै पुगेर सेवा दिने गरिएको बताउनुभयो।
उहाँका अनुसार, अब गाउँ गाउँमा सेवा पुर्याउनका लागि कर्मचारी, प्राविधिक र जनप्रतिनिधिहरूले समेत घरमै पुगेर सेवा दिने तयारी भइरहेको छ। यसले विकट क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सहज हुने समेत विश्वास गरिएको छ।


