कपिलवस्तु, साउन १३ । देशभर भइरहेको लागुऔषध कारोबार, महिला तथा बालबालिकामाथिको हिंसा, बलात्कार, भ्रष्टाचार, बिचौलियाको संलग्नता लगायतका घटनाको विरोधमा वाईसीएल नेपाल कपिलवस्तुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको ज्ञापनपत्रमा नागरिक सुरक्षाको ग्यारेन्टी गर्न, सर्वसाधारणलाई स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत आवश्यकता सुनिश्चित गर्न र संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षण गर्न माग गरिएको छ। वाईसीएलले जनताको न्यूनतम आवश्यकता र सपना पुरा गर्न सरकार असफल देखिएको भन्दै आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, देशमा हुने गरेका बलात्कारका घटना, हत्या, हिंसा, लागुऔषध कारोबार, तस्करीजस्ता गम्भीर घटनामा संलग्नलाई उन्मुक्ति दिने प्रवृत्ति बढेको छ। राजनीतिक पहुँच र पैसाको आडमा जनतालाई न्यायबाट टाढा राख्ने काम भइरहेको छ। त्यसैगरी, महँगी, बेरोजगारी, कृषिमा मल, बीउ, उपकरणको अभाव र स्वास्थ्य क्षेत्रमा हुने लापरवाहीले आम जनता पीडित बनेको भन्दै तत्काल सुधार गर्न माग गरिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा वाईसीएलका जिल्ला अध्यक्ष राकेस यादवले अहिलेको परिस्थिति जनतालाई निराश बनाउने खालको रहेको भन्दै वैचारिक अभियान र आन्दोलनका कार्यक्रममार्फत संघर्ष चर्काउने चेतावनी दिएका छन्।


