माओवादीका महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच ५ बुँदे सहमति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार राजनीतिक दल र एक स्वतन्त्र प्रदेश सभा सदस्यले ५ बुँदे सहमतिपत्र हस्ताक्षर गरेका छन् । सहमतिमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने उल्लेख छ ।

सहमति पत्रमा माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीकी नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य खड्ग बस्नेतको हस्ताक्षर छ ।

सहमति पत्रमा प्रदेश सरकारबाट गरिने राजनीतिक नियुक्ति सरकारमा सहभागी दलहरुको अपनत्व हुने गरी गर्ने, प्रदेशको पहिचान कायम गर्ने, प्रदेश गौरवका आयोजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्व पंक्तिमध्येबाट एक निर्देशक समिति निर्माण गरी कार्य सम्पादन गर्ने नीति अबलम्बन गर्ने पनि उल्लेख छ ।

जनताको सेवालाई सरकारको सर्वोपरी मान्दै राजनीतिक स्थायित्वसहित लुम्बिनी प्रदेश सरकारको स्थायित्व कायम राख्न पनि चार दल र स्वतन्त्र प्रदेश सभा सदस्य सहमत भएका छन् ।

यससँगै मुख्यमन्त्रीमा महराको पक्षमा बहुमत जुटेको छ । २०७९ पुस ९ गते एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा झन्डै तीन महिना अर्थमन्त्री बनेका थिए । उनी रोल्पा १ (१) बाट निर्वाचित सांसद हुन् । उनले लामो समय माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए ।

लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये एक जना निलम्बनमा परेपछि अहिले ८६ जना छन् । मुख्यमन्त्री बन्नका लागि ४४ जना सांसद आवश्यक पर्छ । अहिलेसम्म महरालाई गठबन्धन दलबाट एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एसका एक र नवलपरासी २ (१) बाट निर्वाचित स्वतन्त्र सांसद खडक बस्नेत सहित ४४ सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् । -कान्तिपुर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *