कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले मिडियाले माग गरेअनुसारको रकम भुक्तानी नपाएपछि नगरका पदाधिकारी, कर्मचारीप्रति लक्षित गरी दुरासयपूर्ण, व्यक्तिको जीवनप्रति आँच आउने गरी समाचार प्रकाशित भएको जनाएको छ ।
नगरप्रमुख चक्रपाणी अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै मेचिकाली राष्ट्रिय दैनिक पत्रिका र बुटवल टुडे डट कम.अनलाईनबाट प्रकाशित समाचारप्रति नगरको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘न्यून दररेटमा विज्ञापनहरु प्रकाशित हुँदै आएको कुरा नगरले भुक्तान गरेका तथ्यले पुष्टी गर्दछ । सञ्चार गृहसंगको सम्झौता, कार्यादेश बिना सञ्चार गृहले माग गरे बमोजिमको रकम भुक्तानी दिन नगरपालिका बाध्य नहुने कानूनी विषय हो । यी सामान्य विषयमा मिडियाले माग गरे अनुसारको रकम भुक्तानी नपाए पश्चात् नगरका पदाधिकारी, कर्मचारी प्रति लक्षित गरी दुरासयपूर्ण, व्यक्तिको जीवन प्रति आँच आउने गरी अनुमति विना सञ्चार गृहबाट समाचार तस्विर सहित प्रकाशित गर्ने कार्य गैर जिम्मेवारपूर्ण रहेको कार्यपालिका बैठकको ठहर छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।
नगरप्रमुख अर्यालले स्थानीय तह संस्थागत क्षमता स्वः मूल्यांकनमा ९४.७५ प्रतिशत अंक ल्याउन बाणगंगा नगरपालिका सफल भएको स्मरण गराउँदै यही नै बाणगंगावासीको सुशासनको मुख्य आधार भएको जिकिर गरेका छन् ।
‘मिति २०८१ माघ २३ गते वर्ष २५ अंक ५३ मेचिकाली राष्ट्रिय दैनिक पत्रिकाबाट प्रकाशित बेथितीको अड्डा बाणगङ्गा नगरपालिका भन्ने समाचार र मिति २०८१ साल माघ २३ गते बुटवल टुडे डट कम.अनलाईनबाट प्रकाशित कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मौलाउँदै बेथिति भन्ने समाचार प्रति बाणगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालयको मिति २०८१/१०/२३ गते सम्पन्न बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । राज्यको चौथो अङ्गको रुपमा रहेका सञ्चार माध्यमबाट स्वार्थ केन्द्रित, दुरासायपूर्ण समाचार प्रकाशित हुने विषय स्वयम् सञ्चार जगतका निम्ति पनि क्षति पुग्ने विषय हो । समाजलाई दिशा निर्दिष्ट गर्ने सञ्चार जगत स्वार्थ केन्द्रित समाचार प्रकाशित गर्ने विषयबाट सञ्चार गृह प्रतिको जनविश्वास गुम्ने कुरामा दुई मत छैन । स्मरण रहोस् स्थानीय तह संस्थागत क्षमता स्वः मूल्यांकनमा समेत ९४.७५ प्रतिशत अंक ल्याउन सफल बाणगङ्गा नगरपालिका बाणगङ्गा बासीको सुशासनको मुख्य आधार हो । आर्थिक मितव्ययिता जनताको करको उचित उपयोग गर्ने विषय नगरको जिम्मेवारी हो । हामी स्पष्ट पार्दछौं न्यून दररेटमा विज्ञापनहरु प्रकाशित हुँदै आएको कुरा नगरले भुक्तान गरेका तथ्यले पुष्टी गर्दछ । सञ्चार गृहसंगको सम्झौता, कार्यादेश बिना सञ्चार गृहले माग गरे बमोजिमको रकम भुक्तानी दिन नगरपालिका बाध्य नहुने कानूनी विषय हो । यी सामान्य विषयमा मिडियाले माग गरे अनुसारको रकम भुक्तानी नपाए पश्चात् नगरका पदाधिकारी, कर्मचारी प्रति लक्षित गरी दुरासयपूर्ण, व्यक्तिको जीवन प्रति आँच आउने गरी अनुमति विना सञ्चार गृहबाट समाचार तस्विर सहित प्रकाशित गर्ने कार्य गैर जिम्मेवारपूर्ण रहेको कार्यपालिका बैठकको ठहर रहेको यसै विज्ञप्ती मार्फत स्पष्ट पार्दछौं र यो बैठकबाट ती सञ्चार गृहलाई जिम्मेवारपूर्वक समाचार प्रकाशित गर्न आग्रह गर्दछौं। अन्यथा नगरपालिका कानूनी बाटो अवलम्बन गर्दै कानूनी कारवाहीमा जाने व्यहोरा यसै विज्ञप्ति मार्फत उल्लेख गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।


