अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानी पिकनिक स्थलछेउमै स्थानीय मनबहादुर रायमाझीले बोरा र प्लास्टिक बिछ्याएर स्थानीय घरायसी जडीबुटी र तरकारी बिक्रीका लागि राखेका छन् । उनका ग्राहक नरपानी आएका पर्यटक हुन् ।
सिस्नो, सिस्नोको धूलो, पखनवेद, टिमुर र तरकारी दैनिक बेच्छन् । ‘तरकारी आफ्नै बारीमा उत्पादन गर्छु,’ उनले भने, ‘जडीबुटी त जंगल चहार्दै खोज्नुपर्छ । राम्रो बिक्री भएको छ ।’ सुपा देउराली मन्दिरमा पूजा गरेपछि प्रसाद ग्रहणका लागि नरपानी पिकनिक स्थलमा आउँछन् । कोही घुम्न र प्रसाद ग्रहण गर्नेहरूले तरकारी र जडीबुटी किनेर लैजाने गर्ने उनले बताए । पखनवेदले शरीर, हातखुट्टा दुखेको बेला खाँदा निको हुने उनले बताए ।
जंगलमा पाइने टिमुर भने दाल, तरकारी, मासु, अचारलगायतका परिकारमा मिसाएर खाँदा स्वादिलो हुन्छ । टिमुर धेरैले किन्छन् । ‘बारी, खोला किनारामा सिस्नो जोगाई राखेका छौं,’ उनले भने, ‘सिस्नो टिपेर सुकाएर धूलो बनाएको र काँचो सिस्नो पनि बिक्री गर्छौं । नरपानीमा पर्यटकको चहलपहल हुनुअघि इस्कुस, फर्सी, सिस्नो लगायतका खानेकुरा भैसीले खान्थे र खेर जान्थे, अहिले पर्यटकलाई बिक्री गर्छौं ।’
चिसो ठाउँ नरपानीमा उत्पादन भएको खोले साग पनि तराईबाट आएका पर्यटकले किनेर लैजाने उनले बताए । तरकारी, जडीबुटी बिक्रीबाट आएको पैसाले घरमा नुनतेल, छोराछोरीको स्कुल पढाइ खर्च र आफ्नो पकेट खर्च पुग्ने गरेको उनले बताए । उनका अनुसार महिनामा १० देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गर्छ ।


