जनहित अनलाइन, कपिलवस्तु । खडेरीको समयमा किसानलाई राहत दिने उद्देश्यले बाणगंगा नगरपालिका वडा नम्बर ४ डुंगहवामा डिप ट्युवेल सञ्चालनमा ल्याइएको छ । यशोधरा शान्ति दीप ट्युवेल जल उपभोक्ता समितिबाट जडान गरिएको उक्त ट्युवेल आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धु्रव बहादुर रायमाझीले उद्घाटन गर्नुभएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि राप्रपाका केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीले रिबन काटी बोरिङ्को बटन थिचेर डिप ट्युवेलको उद्घाटन गर्नुभएको हो ।
सो क्रममा उहाँले नेपाल कृषि प्रधान देश भए पनि किसानहरू अझैपनि सिचाइ, मल र बिउजस्ता आधारभूत आवश्यकता नपाएर दुख पाएको उल्लेख गर्नुभयो । “नेपाल कृषि प्रधान देश हो तर विडम्बना के छ भने यहाँका कृषकहरू अझैपनि आधारभूत कुरा—सिचाइ, मल र बिउ पाउन सकिरहेका छैनन् । किसानहरू उत्पादन गर्न चाहन्छन् तर प्रणालीगत कमजोरीका कारण निराश छन् । यस्ता साना–साना सिचाइ योजनाले मात्र होइन, दीर्घकालीन रणनीतिले मात्र कृषकको भविष्य सुरक्षित हुन्छ, ” उहाँले भन्नुभयो । उहाँले यस्ता आधारभूत सुविधा उपलब्ध गराउन सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
भैरहवा भूमिगत जल परियोजनाको सहयोगमा सम्पन्न यस योजनाबाट करिब ६० बिगाह जमिनमा सिचाइ पुग्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।
कार्यक्रममा भैरहवा भूमिगत जल आयोजनाका प्रमुख इन्जिनियर मोहन नेपाल, इन्जिनियर कपिल महर्जन, बाणगंगा कृषि विभाग प्रमुख लेखबहादुर कार्की, वडा सदस्य कृणबहादुर चौधरी, चन्द्रवती चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
यशोधरा शान्ति दीप ट्युवेल जल उपभोक्ता समितिका अध्यक्ष पदम थापाको अध्यक्षता तथा मदनलाल मल्लको सञ्चालनमा सम्पन्न कार्यक्रममा किसानहरूले यस ट्युवेल सञ्चालनलाई खडेरीको बेला कृषि उत्पादनमा आशाको किरणका रूपमा लिएका छन् ।




