ग्यालेक्सी युथ क्लबले गर्यो चारनम्बरमा सरसफाइ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा जेन-जी आन्दोलनको क्रममा निस्किएको फोहोरहरू ग्यालेक्सी युथ क्लबले सरसफाई गरेको छ । सोमबार र मंगलबार दुई दिनसम्म भएको आन्दोलनका क्रममा बजार क्षेत्रमा जम्मा भएको प्लास्टिक, कागज तथा अन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको क्लबले जनाएको छ ।

ग्यालेक्सी युथ क्लबका अध्यक्ष अमृत गिरीका अनुसार बजार क्षेत्रलाई सफा र सुन्दर राख्ने उद्देश्यका साथ क्लबका युवाहरू स्वयंसेवी रूपमा जुटेका हुन् । उनले आन्दोलनपछि बजार क्षेत्रमा धेरै फोहोर जम्मा भएकाले यसलाई तत्काल सफा गर्न जरुरी भएको बताउनुभयो ।

क्लबकी सचिव प्रतिक्षा गैरेका अनुसार कार्यक्रममा ५० भन्दा बढी स्थानीय युवाहरु सहभागी भएका थिए भने करिब ५० बोरा फोहोर संकलन गरिएको छ । सरसफाई अभियानलाई पिपरा इलाका प्रहरी कार्यालयका प्रहरीहरुले पनि सहजीकरण गरेका थिए ।

हालै सम्पन्न जेन–जी आन्दोलनमा सक्रिय रहेका युवाहरुले आगामी दिनमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सम्पत्तिहरुको सरसफाई र पुनर्निर्माणमा समेत सहयोग गर्ने योजना बनाएको सचिव गैरेले बताइन् ।

पछिल्लो एक वर्षदेखि सामाजिक रूपान्तरणको अभियानमा सक्रिय ग्यालेक्सी युथ क्लबले ‘सफा कपिलवस्तु अभियान’, क्यान्सर पीडितका लागि सहयोग संकलन, अनाथ बालबालिकाको सहारा तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले हरेक शनिबार शिक्षा, स्वास्थ्य, वातावरण र युवाको भूमिकासम्बन्धी विषयमा छलफल र संवादमार्फत जनचेतना फैलाउने काम गर्दै आएको छ ।

‘सफा कपिलवस्तु अभियान’ क्लबका गतिविधिहरूमध्ये अहिले सर्वाधिक चर्चामा रहेको छ । यसमार्फत नियमित सरसफाई कार्यक्रम सञ्चालन गर्दै क्लबले केवल शहर सफा गर्ने मात्र नभई स्थानीयवासीमा सरसफाईप्रतिको चेतना विकासमा समेत योगदान दिएको छ ।

२१ वर्षीय युवा अभियन्ता अमृत गिरीको नेतृत्वमा सञ्चालन भइरहेको ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरुको साझा मञ्च बनेको छ । क्लबको समर्पण र कार्यशैलीले अन्य युवाहरुलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ ।

स्थानिय बासिन्दाले युथ क्लबको पहलप्रति प्रशंसा व्यक्त गर्दै बजार क्षेत्रलाई निरन्तर सफा राख्न सबैलाई आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *