क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु। यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

यात्रु सङ्ख्या बढाउने उद्देश्यले राखिएका अतिरिक्त सिट, मुडा र कुर्ची हटाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी व्यवस्थापनमा कडाइ गरेको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सञ्चालन हुने साना तथा मझौला यात्रुवाहक सवारीबाट अतिरिक्त सिट हटाउने अभियान सुरु गरिएको हो ।

उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी यात्रु राख्न प्रयोग गरिएका सिट, मुडा र कुर्ची हटाउँदै आएका छौँ । हालसम्म एक सयभन्दा बढी सवारी साधनबाट यस्ता सामग्री हटाइएको छ । पहिलो चरणमा सवारी चालकलाई सचेत गराइएको छ भने अटेर गर्नेलाई जरिवाना गरिनेछ ।”

सवारी चालकहरूले पनि एक्स्ट्रा सिटका कारण सवारी सञ्चालनमा समस्या आउने स्वीकार गरेका छन् । अनावश्यक सिट राख्दा गाडी असन्तुलित हुने, यात्रु धेरै हुँदा स्टेरिङ चलाउन कठिन हुने तथा आकस्मिक ब्रेक लगाउँदा जोखिम बढ्ने चालक मधुसुधन आले मगरले बताउनुभयो ।

ट्राफिक प्रहरीका अनुसार अत्यधिक यात्रु राख्दा सवारी साधनको भार सन्तुलन बिग्रिने, ब्रेक प्रणालीमा दबाब बढ्ने, मोडमा सवारी ढल्किने र आकस्मिक अवस्थामा नियन्त्रण गर्न कठिन हुने समस्या देखिन्छन् । सवारी साधनको भित्री संरचनामा अनधिकृत परिवर्तन गर्दा यात्रुको सुरक्षामा प्रत्यक्ष असर पर्ने बताइएको छ । यस्ता कारणले साना दुर्घटनादेखि ठूला मानवीय क्षतिसम्मका घटना हुने सम्भावना उच्च रहने भएकाले ट्राफिक प्रहरीले अभियानलाई निरन्तरता दिने जनाएको छ । -जानु पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *