काठमाडौँ । टोखा नगरपालिका ७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले प्रहार गरी क्रुरतापूर्वक हत्या गर्ने अंकित भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा भुजेलले कुकुरलाई लठ्ठीले बारम्बार प्रहार गरी हत्या गरेका हुन् । कुकुरलाई कुटेर हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कुकुरलाई निर्ममता पूर्वक हत्या गरेको जानकारी स्थानीयले गराउनेबित्तिकै प्रहरी घटना स्थलमा पुगेर भुजेललाई नियन्त्रणमा लिएको काठमाडौँ महानगरीय प्रहरी वृत्त महारजगञ्जका प्र।ना।उ निरञ्जन थापाले बताए । उनी भन्छन् ‘कुकुरलाई क्रुरतापूर्वक किन हत्या गरियो भनेर थप अनुसान्धन जारी रहेको छ ।’


पशु बोल्न सक्दैन वा उसका लागि बोलिदिने कोही छैन भनी जथाभावी पशुको हत्याहिंसा हुने गरेको पशु अधिकारकर्मी विश्वराम कार्की बताउँछन् । पशुप्राणीमाथि हत्या–हिंसा गर्नेलाई कानुन भए पनि कडाइका साथ कारबाही नगरिँदा यस्तो कृत्य बढिरहेको उनको भनाइ छ ।


के हुन्छ सजाय ?
नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।


मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रुरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । कानुन विज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरी कार्यलयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिल कार्यलयमा पनि यसको उजुरी दिन मिल्छ ।
कुकुरको हत्या मात्र होइन, कुनै पनि उनीहरूलाई कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । ‘उल्लेखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ’ अधिवक्ता श्रेष्ठ बताउँछन् ।




