उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन : आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । सरकार र उखु किसानबीच हिजो बेलुका भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारमा कृषि मन्त्री रामनाथ अधिकारीसहित भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान सङ्घर्ष समितिका केन्द्रिय प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो ।

वार्तामा कृषिमन्त्री अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गर्नुभएको थियो । तर सङ्घर्ष समितिले आन्दोलन नरोकिने बरु आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने जवाफ दिएको छ । आफूहरूले उखुमा सरकारले दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको मागलाई कायमै राखेको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

आज बिहान माइतीघरमा पत्रकार सम्मेलन गरी सङ्घर्ष समितिले आन्दोलनको अबको स्वरूपबारे जानकारी गराउने तयारी गरेको छ । गएको आइतवारदेखि आन्दोलन गर्दै आएका उखु किसानको आन्दोलनको आज सातौँ दिन हो ।

१३ जिल्लाबाट किसान काठमाण्डौ आएर आन्दोलन गरिरहेका छन् । आन्दोलनमा सहभागी कतिपय किसान बिरामी पर्न थालेका छन् ।

सरकारले उखु किसानको आन्दोलनकैबीच गएको मङ्गलवार अनुदानबापतको रकम ७५ करोड ४९ लाख रुपैयाँ निकासा गर्‍यो । जुन प्रतिक्विन्टल ३५ रुपैयाँ हुन आउँछ । तर यसअघि सरकारले उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ किसानलाई अनुदान दिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *