आफू अविवाहित भनेर प्रेमीलाई ढाँटिन्, थाहा पाउने डरले दुई छोरीको हत्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सल्यानको वनगाड कुपिन्डे नगरपालिका – ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइन्। प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो। आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो।

ुअनुसन्धानबाट पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। उनीहरूको चिनजान सामाजिक सञ्जालमार्फत भएको थियो,ु डिएसपी न्यौपानेले भने।

पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला मजदुरीका लागि बाहिर गइरहन्थे। घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे। पूर्णिमाले दुई छोरीको हत्या गर्ने समयमा पनि टेकबहादुर मजदुरीका लागि नुवाकोट गएका थिए। हत्याको खबर पाएपछि मात्रै उनी घर फर्किएका थिए।

प्रहरीका अनुसार पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै तर भारतमा बस्ने युवकसँग प्रेम सम्बन्ध थियो। अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन्। उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन। तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए।

सामाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो। दुई साना छोरीहरू भिडिओमा युवकले देखेका थिए। को हुन् भनेर सोध्दा पूर्णिमाले दिदीका छोरी भनेर ढाँटेकी थिइन्।

पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किए। छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरूबीच छिट्टै भेट्ने कुरा भयो।

भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमाले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयानसहित स्वीकार गरेको डिएसपी न्यौपानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *