अर्घाखाँचीमा बाँदर आतङ्क, मकैबारीमा सीसी क्यामेरा जडान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । बारीमा पाक्दै गरेका मकै र फलफूल बाँदरबाट जोगाउन किसानले अनेक जुक्ति निकालेका छन् । कतै गुलेली, होहल्ला, कर्नाल र ढुंग्रो फुकेर त कतै भाँडाकुँडा बजाएर वा चौकीदारी गरेर बाँदर धपाउने गरिएको छ । तैपनि वन्यजन्तुले किसानलाई हैरान पारिरहेका छन् ।

सन्धिखर्क नगरपालिका–८ किमडाँडाका पिताम्बर भुसालले भने मकैबारीमा सीसी क्यामेरा जडान गरेका छन् । बाँदर बारीमा आउनै लाग्दा सीसी क्यामेराले घरमा रहेको ल्यापटप र मोबाइलमा संकेत दिन्छ । त्यसपछि उनी बाँदर लखेट्न बारीतर्फ दौडन्छन् । एउटै बोटमा दुईरतीनवटासम्म घोंगा फलेका छन् । पाक्दै गरेका दूधिलो मकैमा बाँदरले बढी आकर्षण देखाउँछ ।

‘बिहानदेखि साँझसम्म बारीको छेउमा चौकीदारी गरेर मात्र हुँदैन, घर, मेलापात सबै काम गर्नुपर्छ,’ उनले भने, ‘बाँदर बारीमा छिर्न थालेपछि सीसी क्यामेराले मेरो मोबाइल र कम्प्युटरमा संकेत दिन्छ । होहल्ला गर्दै दौडेर बाँदर लखेट्छु ।’

बारीमा ५० बोट आँप फलेका थिए । यसपालि उनले ५० क्विन्टल आँप सन्धिखर्क बजारमा बिक्री गरेका छन् । ‘आँपलाई सीसी क्यामेराकै भरमा बाँदरबाट जोगाएँ, मकै पनि अहिलेसम्म जोगाएको छु,’ उनले भने, ‘वन्यजन्तु, चराचुरुङ्गी, किरा–फट्याङ्ग्रा बारीभित्र पसेपछि मेरो मोबाइलमा अलार्म जस्तो संकेत आउँछ । अनि हेरेपछि के आयो सबै देखिन्छ ।’ उनले यो प्रविधिलाई भरपर्दो सुरक्षागार्ड मानेका छन् ।

१३ बारीमा मकै उत्पादन भएको छ । त्यही बारीमा ५० बोट आँप चार वर्षदेखि फल्दै आएको छ । आँपबाट वर्षमा चारदेखि ६ लाख रुपैयाँसम्म आम्दानी हुन्छ । मकैबारीभित्र सिमी, बोडी, फर्सी, काँक्रोलगायतका मसला बालीहरू उत्पादन भइरहेका छन् ।

‘अब सबै ठाउँमा मान्छे उभ्याएर सम्भव छैन, प्रविधिको भरपूर उपयोग गर्नुपर्छ,’ भुसालले भने, ‘मेरो बारीमा अब आँपखेती विस्तार गर्छु, आउँदो वर्ष सयौँ आँपका विरुवा लगाउने योजना छ । प्रविधिले यति धेरै फड्को मारेको छ कि निकट भविष्यमै खेतबारीमा ड्रोन क्यामेरामार्फत सिँचाइ गर्ने र कीटनाशक औषधि छर्ने समय आउँदैछ ।’ एक बिघा बारीमा उनले तीनवटा क्यामेरा जडान गरेका छन्। तिनैले सम्पूर्ण क्षेत्र देखाउँछन्

सीसी क्यामेरा उनले आँप फल्ने समयमा जोडेका हुन् । बारीको बीचमा बाँसको खम्बामा क्यामेरा राखिएको छ । यसअघि मकै जोगाउन घरका सबै परिवारले लाठी लिएर बारीको छेउमा चौकीदारी गर्नुपर्थ्यो । बाँदर आएपछि लखेट्नुपर्थ्यो । तर क्यामेरा जडान गरेपछि चौकीदार बस्नु परेको छैन । अब परिवारले घर र मेलापातका सबै काम गर्न सक्छ ।

उनी पहिले रोजगारीका लागि विदेश गएका थिए । सात वर्ष दुबई, चार वर्ष कतार र दुई वर्ष मलेसियामा बिताएका उनले त्यहाँको अनुभव र युट्युब हेरेर बारीमा सिसी क्यामेरा जडान गर्ने उपाय निकालेका हुन् । उनका दाइ ठाकुर भुसालसहित सिङ्गो परिवार कृषि पेशामा लागिपरेको छ। सबै परिवार मिलेर खेतीपाती गर्छन् ।

‘आँप, तरकारी, मसला बाली खेती गर्छु,’ उनले भने, ‘बाख्रा, कुखुरा पालेर मासु र अण्डा उत्पादन गर्छु। सन्धिखर्क बजारमा दूध निर्यात गर्न भैंसी पाल्ने तयारीमा छु। कृषि उद्यममै भविष्य देखेको छु, अब विदेश जान्न, भिसा नै त्यागेँ।’ पाँच सय फल दिने आँपका बोट बनाउने योजना उनको छ। प्रविधिको उपयोग गर्दै कृषि उद्यम विस्तार गर्ने उनको लक्ष्य छ।

भुसालले सिसी क्यामेरामार्फत बाँदरबाट मकै जोगाएको देख्दा गाउँले दंग छन्। छिमेकीहरू ढोका लगाएर बाँदर लखेट्न बारीको छेउ र बाटोमा लठ्ठी, गुलेली र ढुंगा बोकेर बसिरहेका छन्। तर उनी मोबाइलबाटै बाँदरको निगरानी गर्छन् ।

सीसी क्यामेरा राति पनि सक्रिय हुन्छ । राति बारीभित्र मान्छे वा वन्यजन्तु पस्न थाले मोबाइलमा अलार्म आउँछ र क्यामेराबाट उज्यालोसमेत हुन्छ । अहिले बाँदर र बँदेलले मकैमा नोक्सानी गरिरहेका छन् । उनले बारीको छेउमा बार लगाएका छन् । बाँदर रुखबाट हाम फालेर बारीमा आउँछ भने बँदेल उफ्रेर आउन सक्दैन ।

‘सीसी क्यामेरा त सुरक्षागार्ड हो,’ उनले भने, ‘बारीको सबै कुरा देखाउँछ, वन्यजन्तु, मान्छे, जरा, पुतली जे आयो पनि अलार्म दिएर खबर गर्छ । जसले खेतबारीको खेती सुरक्षित राख्न सहयोग गर्छ ।’ उनले घरजग्गालगायत सबै ठाउँ सिसी क्यामेरामै निगरानीमा राख्नुपर्ने बताए । -कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *