चेतन विष्ट, कपिलवस्तु । नेपाल स्काउट राष्ट्रिय शुसासन स्रोत तथा वित्त आयुक्त गुणखर गैरेले स्काउट शैक्षिक कार्यक्रम रहेको भन्दै स्काउटको कार्यक्रमलाई हरेक विद्यालयमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । हामीले सोचेजस्तो देशभक्त, नैतिकवान र सकारात्मक नागरिक तयार पार्न स्काउटले सहयोग गर्ने भएकाले विद्यालयमा स्काउट कार्यक्रमको आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।
स्थानीय स्काउट समिति संरक्षक, प्रमुख स्काउट दिक्षान्त तथा स्काउट अभिमुखिकरण कार्यक्रमको समापनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभ्य समाज निर्माणका लागि स्काउटले नागरिकलाई कर्तब्य र अनुशासन सिकाउने उहाँले बताउनुभयो । बाणगङ्गाले स्काउट कार्यक्रमको लागि गरेको सहयोगको प्रशंसा गर्दै आगामी वर्षहरुमा पनि यो सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।


त्यस्तै बाणगङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले समाजमा सजिलै समायोजित हुन सक्ने नागरिक तयार गर्न स्काउट कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । आफुले अन्य पालिका भित्र स्काउटले गरेका कार्यहरुको अबलोकन गरेको भन्दै अब बाणगङ्गा भित्रका विद्यालयमा पनि यसलाई व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । स्काउटको महत्वलाई बुझेर आफुले थोरै भएपनि बजेट विनियोजित गरेको भन्दै आगामि आर्थिक वर्षमा त्यसलाई वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो ।


नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यसमिति सदस्य भगवती न्यौपानेले विद्यालयमा किताबी ज्ञान सङ्गै व्यवहारिक तथा नैतिक ज्ञानलाई पनि प्राथमिकता दिनुपर्ने बताउँदै त्यसलाई स्काउट कार्यक्रमले सहयोग गर्ने बतानुभयो । विद्यार्थीहरुलाई नेतृत्व विकासको क्षमता वृद्धि गर्ने भन्दै यसले अनुसासन सिकाउने पनि बताउनुभयो । साथै उहाँले पछिल्लो समय धेरै युवा युवती कुलतमा फस्ने तथा अन्य नकारात्मक कार्य तर्फ लागिरहेको भन्दै उक्त समस्याको समाधानका लागि पनि स्काउटले सहयोग गर्ने बताउनुभयो ।


त्यस्तै कार्यक्रमका अध्यक्ष तथा नेपाल स्काउट नगर तदर्थ समिति संयोजक अन्जित खनालले नगरले स्काउटलाई सहयोग गर्ने भनेर गरेको प्रतिबद्धतालाई पुरा गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा प्यावसन प्रतिनिधि तथा होराइजन इङ्गिल बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक बासुदेव घिमिरे, ओदारी स्काउट दलकी अध्यक्ष मिना कुमारी थारु लगायतले बोल्दै हरेक बालबालिकालाई स्काउट सम्बन्धि तालिम दिनुपर्नेमा जोड दिनुभयो ।
स्काउट लुम्बिनी प्रदेशको आयोजना, श्री ओदारी मा.वि. को समन्वय तथा बाणगङ्गा नगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य वाज वुल लैन साह, नेपाल स्काउट परिषद सदस्य कमल प्रसाद घिमिरे, स्काउटर लिना श्रेष्ठ, स्काउटका प्रतिनिधि, निजी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन स्काउटर लक्ष्मी चौधरीले सञ्चालन गर्नुभएको थियो ।
यसैबिच ११ गते पहिलो दिन स्काउट लुम्बिनी प्रदेश कार्यसमिति सदस्य भगवती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, उपमेयर रिता कुमारी चौधरी र शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी. लाई दिक्षान्त गरिएको थियो । उक्ता दिन नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको प्रशिक्षकको रुपमा लुम्बिनी प्रदेश स्काउट अधिकृत तारा पुरी, एम.ओ.पी. कोर्डीनेटर सरस्वती शर्मा रहनुभएको थियो ।







