जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाणगङ्गा नगर समितिको आयोजनामा बाणगङ्गास्थित सिद्धार्थ क्याम्पसका +२ तहका विद्यार्थीलाई लक्षित गरी लागूऔषध तथा दुव्र्यसन रोकथामसम्बन्धी जनचेतनामूलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई लागूऔषधको प्रयोगबाट हुने स्वास्थ्य, सामाजिक तथा व्यक्तिगत क्षतिबारे जानकारी गराउँदै यसको रोकथाम र नियन्त्रणका उपायबारे सचेत गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रास्वपा कपिलवस्तु सभापति शिवकुमार सुवेदीले लागूऔषधको समस्या पछिल्लो समय युवापुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताउनुभया े। उहाँले युवा देशको भविष्य भएकाले उनीहरूलाई कुलतबाट जोगाउँदै सकारात्मक सोच, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभया े।
प्रमुख प्रशिक्षक प्रहरी नायब निरीक्षक यादव न्यौपानेले लागूऔषधको प्रयोगबाट युवाको भविष्यमा पर्न सक्ने गम्भीर असर, दुव्र्यसनमा फस्ने कारण तथा त्यसबाट जोगिने उपायबारे विद्यार्थीलाई जानकारी गराउनुभएको थियो। उहाँले युवा पुस्तालाई लागूऔषधबाट टाढा राख्न परिवार, विद्यालय, समाज तथा स्वयं विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो।
कार्यक्रममा विद्यार्थी सचेतनासम्बन्धी मन्तव्य राख्दै क्याम्पसका सहायक क्याम्पस प्रमुख कमल पोख्रेलले विद्यार्थी जीवनमा सही निर्णय र सकारात्मक सोचको आवश्यकता रहेको बताउनुभयो। उहाँले युवालाई कुलतबाट जोगाउन शैक्षिक संस्थासँगै अभिभावक र समुदायको समेत निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, प्रध्यापक रमेश भुसाल, गोविन्द पोख्रेल, रमेश पौडेल, राजकुमार अर्याल, रास्वपा जिल्ला सचिब यमलाल आचार्य लगायत शिक्षक, विद्यार्थी तथा रास्वपाका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम रास्वपा बाणगङ्गा नगर सभापति बुद्धिसागर बेल्बासेको अध्यक्षता र सचिब बेदुराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

