बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयांको वजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर वजेटमा रकम विनियोजन गरिएको छ ।
राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सरकारले बजेटको आकार गत वर्ष भन्दा २ अर्बले घटाएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको थियो । वजेटमा प्रदेश सञ्चित कोषमाथि व्यवयभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । यस्तै आगामी आर्थिक वर्षको कूल खर्च ३८ करोड ९७ करोड विनियोजन गरिएको छ ।
विनियोजन खर्चमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।
वजेटमा लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शैयाको भवन बनाउन एक अर्ब ८० करोड विनियोजन गरिएको छ । यस्तै सोही अस्पतालमा एमआरआई मेशिन खरिद गर्न १५ करोड छुट्टाइएको छ ।
वजेटमा हाल कार्यान्वयनमा रहेको सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई थप सय वटा वन समुहमा बिस्तार गरी यसलाई प्रदेश सरकारको राजश्वको प्रमुख श्रोतको रुपमा अगाडि बढाइने वजेटमा उल्लेख छ ।
वजेट वक्तव्यमा कृषि कर घटाइने आर्थिक मामिला तथा योजना मन्त्री आचार्यले उल्लेख गरेका छन् । वजेटमाथि सैद्धान्तिक छलफल असार ६ र ७ गते हुने छ ।

