कपिलवस्तुको कुरा गर्दा म सधैं बाणगङ्गा सम्झिन्छु। बाणगङ्गा सम्झिँदा जगदिशपुर छुटे जस्तो लाग्छ, र जगदिशपुरबाट तिलौराकोट पुग्दा एउटा गहिरो अनुभूति हुन्छ इतिहास यति सशक्त भएर पनि कपिलवस्तु राज्यको प्राथमिकताबाट क्रमशः हराउँदै गएको छ। यी ठाउँहरू केवल भौगोलिक नाम होइनन्, यी बुद्धकालीन सभ्यतासँग जोडिएका जीवन्त प्रमाण हुन्।
बुद्ध जन्मिएको लुम्बिनी यही क्षेत्रको कथा हो, तर बुद्ध हुर्किएको, सोच बनाएको र राज्य संरचनासँग प्रत्यक्ष जोडिएको भूमि कपिलवस्तु हो। यति गहिरो ऐतिहासिक सम्बन्ध हुँदाहुँदै पनि राज्यको विकास दृष्टिले लुम्बिनी र कपिलवस्तुलाई कहिल्यै एउटै दृष्टिकोणबाट हेरेन।
लुम्बिनीको नाममा भएका ठूला विकास परियोजना अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन पूर्वाधार, सडक सञ्जाल र निजी लगानी मुख्यतः रुपन्देही केन्द्रित भए। दाङले आफ्नो भौगोलिक पहुँच, प्रशासनिक संरचना र राजनीतिक प्रभाव विस्तार गर्न सफल भयो। तर कपिलवस्तु भने यी दुई जिल्लाबीच पर्दै, लुम्बिनीको ब्रान्ड बोकेर पनि विकासको केन्द्रबाट ओझेलमा पर्यो। इतिहास कपिलवस्तुको रह्यो, तर त्यस इतिहासबाट जन्मिनुपर्ने अवसर, सम्भावना र भविष्य अन्यत्र सरे।
यो अवस्था मलाई कहिलेकाहीँ भारतको छायाँमा नेपाल परेको जस्तै लाग्छ। त्यसैगरी, कपिलवस्तु रुपन्देही र दाङको बीचमा राजनीतिक र नीतिगत रूपमा ओझेलमा परेको छ। यो समस्या भौगोलिक मात्र होइन, राजनीतिक कमजोरीको परिणाम हो। कपिलवस्तुका नेताहरू राष्ट्रिय राजनीतिमा आफ्नै जिल्लाको सवाललाई लुम्बिनी विकाससँग रणनीतिक रूपमा जोडेर उठाउन कमजोर देखिए। नीतिनिर्माणका टेबलमा उपस्थिति त थियो, तर प्रभाव र दबाब पर्याप्त थिएन। यही कमजोरीले लुम्बिनी केन्द्रित विकासबाट कपिलवस्तु निरन्तर बाहिरिँदै गयो।
यसको प्रत्यक्ष असर तौलिहवामा देखिन्छ। तौलिहवा नेपालकै पुराना नगरपालिकामध्ये एक हो। ऐतिहासिक, प्रशासनिक र सभ्यताको हिसाबले यसको पहिचान सानो छैन। तर राष्ट्रिय स्तरमा तौलिहवाको प्रस्तुति प्रायः एउटा सामान्य सीमावर्ती सहरभन्दा माथि उठ्न सकेन। यो तौलिहवाको कमजोरी होइन, राज्यको दृष्टिकोणको समस्या हो। जब नीति र प्राथमिकतामा कुनै ठाउँ देखिँदैन, त्यसको छवि पनि कमजोर बनाइन्छ।
अझ पीडादायक पक्ष के छ भने कपिलवस्तु राष्ट्रिय मिडियामा प्रायः नकारात्मक समाचारका कारण मात्रै देखिने जिल्ला बनेको छ। घटना, विवाद र असहज परिस्थितिले जिल्लाको पहिचान जस्तै बनाइयो। यसले राष्ट्रिय स्तरमा कपिलवस्तुको एकपक्षीय र कमजोर छवि निर्माण गर्यो। इतिहास, सम्भावना र योगदानका कथाहरू नकारात्मक हेडलाइनको छायामा हराए। जब नेतृत्व कमजोर हुन्छ, कुनै जिल्ला आफैं आफ्नो कथा भन्न सक्दैन—अरूले नै परिभाषित गरिदिन्छन्।
लुम्बिनीलाई विश्वस्तरीय धार्मिक र सांस्कृतिक गन्तव्य बनाउने कुरा गर्दा तिलौराकोट, बाणगङ्गा र जगदिशपुरलाई अलग राखेर सोच्नै सकिँदैन। तर नीति, बजेट र योजना निर्माणमा यी स्थानहरू सधैं दोस्रो प्राथमिकतामा परे। कपिलवस्तुमा आजसम्म पनि ठूला राष्ट्रिय विकास परियोजनाबारे गम्भीर बहस हुन सकेको छैन। पूर्वी मधेशका मुद्दा जस्तै कपिलवस्तुको सवाल किन राष्ट्रिय बहस बन्दैन भन्ने प्रश्न आज पनि अनुत्तरित छ।
यो लेख कुनै गुनासो होइन, यो स्मरण हो। इतिहासलाई केवल गौरवको कथा बनाएर छोड्दा विकास सधैं अरूकै हातमा जान्छ। यदि इतिहास कपिलवस्तुको हो भने विकास पनि कपिलवस्तुलाई समेटिनैपर्छ। नत्र यो अन्याय फेरि दोहोरिन्छ।
अब कपिलवस्तुलाई कमजोर आवाज होइन, जोडिएको दृष्टि, स्पष्ट नीति र दृढ राजनीतिक अडान चाहिएको छ। बाणगङ्गा, जगदिशपुर र तिलौराकोटलाई छुट्टाछुट्टै होइन, एउटै भविष्यको आधार मानेर हेर्ने समय धेरै अघि नै आइसकेको छ।


