लमजुङ बगुम पहिरो: बेपत्ता चारैजनाको शव भेटियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लमजुङ  । लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार राति पहिरोले घर बगाउँदै हराइरहेका एकै परिवारका ४ जनाको शव भेटिएको छ ।

गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाएको र २ घरका ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधिले खोजतलास गरेकोमा बुधबार दिउँसो चारैजनाको शव फेला परेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए ।

उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पहिरोमा परेर ७० वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ९ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता भन्ने निष्मा गुरुङको शव फेला परेको छ । ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको उनले बताए ।

क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबीर गुरुङले आमा र २ छोरीको शव घरबाट करिब १५–२० मिटरमुनि हुमदेवी गुरुङको धन्सारको आडमा एकैठाउँमा फेला परेको बताए । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको उनले बताए । प्रहरीले अहिले घटनास्थलमा मुचुल्का उठाइरहेको छ ।

योसँगै लमजुङमा पहिरोबाट मर्नेको संख्या ५ पुगेको छ । दोर्दी गाउँपालिका ९, धैरेनी सुनारगाउँमा मंगलबार राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । २ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए ।

घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याउनेबित्तिकै विकललाई बुधबार बिहान ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *