काठमाडौँ । अन्तत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । रास्वपा पार्टीको नेतृत्व छाडेको १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्कन लागेका हुन् । आज सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा कमव्याक गराउने भएको हो । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
उनका अनुसार ३ बजेको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । र, दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्ने छन् । लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन र महाधिवेशन कार्यतालिकालगायत पनि छलफलको एजेण्डामा छ । ०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिएका थिए ।
नेता–कार्यकर्ता र मतदाताको मागानुसार लामिछानेलाई जिम्मेवारीमा फर्काउन लागिएको कार्यवाहक प्रवक्ता झाको भनाइ छ । लामिछाने गएको कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा छ । उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । सहकारी ठगीमा चार अदालतमा धरौटी तारिख पाएका लामिछानेले तीनवटामा पुनरावेदन दर्ता गराइसकेका छन् ।
रास्वपाले यसअघि वीरगन्जको सानो पाइला सहकारीमा अभियोजन र सुनुवाइपछि मात्र लामिछानेलाई पार्टी भूमिकामा फर्काउने जनाएको थियो । तर, यतिखेर रास्वपाले ‘विशेष परिस्थिति’ बताएर लामिछानेलाई नेतृत्वमा फर्काउन लागेको हो । सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन । चारवटै जिल्ला अदालत गरी कुल दुई करोड ७९ लाख धरौटी रकममा छोड्न आदेश दिएको छ । उनी अहिले तारिक धाईरहेका छन् । यता पर्सामा भने मुद्धा दर्ता नभएकाले पनि उनी केहि तनाबमा छन् ।
उनलाइृ सरकारले दुख दिएको रास्वपाले आरोप लगाउँदै आएको छ । हिरासत पछि लामिछाने पार्टीका गतिविधिमा निश्क्रीय जस्तै बनेका थिए । अहिले पनि उनी सार्वजनिक कार्यक्रममा देखिने गरेका छैन । घरमै आराम गरेर बसिरहेको उनी निकट स्रोतले जनाएको छ । अब पार्टीमा फर्किए संगै उनी पुरानै गतिविधिमा फर्कने तयारीमा रहेको बताईएको छ ।


