चेतन विष्ट, कपिलवस्तु । सामुदायिक वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गरिरहेको बाणगंगाको मधुवन सामुदयिक वनले सुत्केरी आमा तथा नवजात शिशुका लागि पोषणयुक्त खानेकुरा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अन्तर्गत उपभोक्ता समुह भित्रका ३२ जना सुत्केरी आमाहरुलाई विभिन्न पोषणयुक्त खानेकुरा वितरण गरिएको वनका अध्यक्ष शान्त विक्रम पौडेलले बताउनुभयो ।


अण्डा, मह, चना लगायतका विभिन्न पौष्टिक खानेकुर वितरण गरिएको उहाँले बताउनुभयो । वनको आर्थिक अवस्थाका कारण थोरै खानेकुरा भएपनि यसले सुत्केरी र बच्चाको स्वास्थ्य प्रवदर््धनका निम्ति ठुलो भुमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आगामि वर्षहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।


त्यस्तै सव डिभिजन वन कार्यालय मोतिपुरका फरेस्टर विष्णु थारुले वनले गरेको कार्यको प्रशंसा गर्दै अन्य वनले पनि यसको अनुकरण गर्न आवश्यक रहेको बताउनुभयो । वनको अर्थलाई सहि व्यवस्थापन गर्न सके धेरै राम्रा कामहरु गर्न सकिने उदाहरण मधुवन सामुदायिक वनले प्रस्तुत गरेको बताउनुभयो ।


उपाध्यक्ष शालिकराम भुषालको स्वागत तथा सचिव अनिता थापाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वनका पदाधिकारी, अन्य वनका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।







