जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले यस वर्षको १७औँ कपिलवस्तु महोत्सव आगामी मंसिर १७ गतेदेखि २९ गतेसम्म आयोजना गर्ने भएको छ। बाणगंगा नगरपालिकास्थित बुद्धरंगशालामा सञ्चालन हुने महोत्सवको तयारीलाई संघले औपचारिक रूपमा अघि बढाएको हो। शुक्रबार संघको सभाहलमा बसेको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गर्दै आवश्यक तयारी प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको हो। बैठकपछि संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले यस वर्षको महोत्सवलाई विगतका वर्षहरूको अनुभवलाई आधार बनाएर अझ व्यवस्थित, प्रभावकारी र आकर्षक रूपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार महोत्सवलाई केवल व्यापारिक कारोबारमा सीमित नराखी स्थानीय उत्पादन, कृषि, उद्योग, पर्यटन, लघु तथा घरेलु उद्यम, कला, संस्कृति तथा मनोरञ्जनलाई एकै थलोमा प्रवर्द्धन गर्ने साझा प्लेटफर्मका रूपमा विकास गरिनेछ। त्यसका लागि विभिन्न उपसमिति गठन, व्यवस्थापन, समन्वय तथा प्रचारप्रसारका काम चरणबद्ध रूपमा अघि बढाइने उनले बताए। बैठकमा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल, सल्लाहकार शक्ति सिंह ठकुरी, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल लगायत पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको महासचिव नवदत्त घिमिरेले जानकारी दिए। महासचिव घिमिरेका अनुसार कार्यसमिति बैठकले महोत्सवको प्रारम्भिक तयारीसँगै संघका केही संस्थागत तथा प्रशासनिक विषयमा पनि निर्णय गरेको छ। बैठकबाट लेखापरीक्षक नियुक्त गर्ने, सदस्यता नवीकरण प्रक्रिया अघि बढाउने तथा संघमा प्राप्त विभिन्न पत्रमाथि आवश्यक निर्णय गर्ने सहमति भएको उनले बताए। संघले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्योग–व्यवसायको प्रवर्द्धन, कृषि र पर्यटन क्षेत्रको प्रचारप्रसार, नयाँ लगानी आकर्षित गर्ने तथा स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। महोत्सवअन्तर्गत रहने स्टल व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विभिन्न प्रतियोगिता तथा अन्य आकर्षणसम्बन्धी विस्तृत कार्यक्रम भने आगामी दिनमा सार्वजनिक गरिने संघले जनाएको छ।

