बाणगंगा देशमै उत्कृष्ट १० स्थानीय तहको सूचीमा पर्न सफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका राष्ट्रिय स्तरमै उत्कृष्ट १० स्थानीय तहको सूचीमा पर्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकनमा बाणगंगाले ८९.७५ प्रतिशत अंक प्राप्त गर्दै नवौं स्थान हासिल गरेको हो ।

यसपटकको उत्कृष्ट सूचीमा बागमती, लुम्बिनी, कोशी र गण्डकी प्रदेशका १० वटा स्थानीय तह समावेश भएका छन् । लुम्बिनी प्रदेशबाट रुपन्देहीको तिलोत्तमा, देवदह, गुल्मीको छत्रेश्वरी र पाल्पाको तानसेनसँगै बाणगंगा पनि टप–१० मा परेको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले यो उपलब्धि समग्र बाणगंगावासीको साझा जित भएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्दा बाणगंगाले यो उपलब्धि हासिल गरेको बताउनुभयो ।

“आगामी दिनमा विकास र सेवाप्रतिको जनआकांक्षा पुरा गर्न नगरपालिकाले अझै बढी प्रतिबद्धताका साथ काम गर्नेछ,” उहाँले भन्नुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले नगरपालिकाको यो उपलब्धिले नगरवासीलाई गर्वको अनुभूति गराएको बताउँदै स्थानीय विकास, पारदर्शी प्रशासन र प्रभावकारी सेवाप्रतिको प्रतिबद्धताले बाणगंगालाई अबको दिनमा अझ उच्च स्तरमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ।

बाणगंगालाई उत्कृष्ट १० मा ल्याउन नगरपालिकाको सम्पूर्ण टिमले निरन्तर मेहनत गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले भने, “सुशासन, पारदर्शिता र सेवाको प्रभावकारितामा अझ सुधार गर्दै लैजाने हाम्रो लक्ष्य हो । यो उपलब्धि कर्मचारी, जनप्रतिनिधि र नगरवासी सबैको संयुक्त प्रयासको नतिजा हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *