कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ तस्करी गर्ने ट्याक्टरहरूलाई नियन्त्रणमा लिने अभियानलाई तीव्र पारेको छ । सोही क्रममा शुक्रबार र शनिबार दुई दिनको अवधिमा मात्रै तीन वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
नगरपालिकाको राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार बाणगंगा नगरपालिका–२ राजपुर क्षेत्रबाट लु ४ त ९९६० नम्बरको ट्याक्टर र वडा नं। ७ कोईली वनगाईको चौरी गाउँ क्षेत्रबाट लु ५ त २४३ र लु ५ त १९ नम्बरका दुई वटा ट्याक्टर नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नगर प्रहरी हवल्दार बाबुराम मरासिनीले चालु आर्थिक वर्ष २०८२र८३ सुरु भएयता हालसम्म कुल ६ वटा ट्याक्टर नियन्त्रणमा लिइसकिएको जानकारी दिए । उनले अवैध रूपमा नदीजन्य पदार्थको दोहन हुन नदिने उद्देश्यले नगर प्रहरी निरन्तर सक्रिय रहेको बताए ।
यसैबीच राजस्व शाखा प्रमुख घिमिरेका अनुसार नियन्त्रणमा लिइएका तीन वटा ट्याक्टरमध्ये लु ५ त १९ नम्बरको ट्याक्टरलाई आवश्यक प्रक्रिया पुरा गरी ५० हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको छ । बाँकी दुई वटा ट्याक्टरबारे आवश्यक कारबाही प्रक्रियामा रहेको जनाइएको छ ।
यस विषयमा नगर प्रमुख चक्रपाणी अर्यालले अवैध रूपमा नदीजन्य पदार्थको उत्खननले वातावरणीय असन्तुलन सिर्जना गर्ने भएकाले नगरपालिका कडाइका साथ नियन्त्रणमा लागिरहेको स्पष्ट पारे । “हाम्रो उद्देश्य राजस्व संकलन मात्र होइन, वातावरणीय संरक्षण पनि हो । अवैध उत्खनन रोक्न नगरपालिकाले शून्य सहनशीलताको नीतिका साथ काम गर्छ,” उनले भने ।
नगरपालिकाले स्थानीयवासीलाई समेत नदीजन्य पदार्थको अनधिकृत दोहन नगर्न र देखेमा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।


