बर्दघाट नगरपालिकाद्वारा विद्यार्थी दुर्घटना राहत कोष स्थापना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नवलपरासी  । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै ‘विद्यार्थी राहत कोष’ स्थापना गरेको छ। आर्थिक वर्ष २०८२र८३ को नगर बजेटमा समावेश गरी रु १० लाखको कोष व्यवस्थापन गरिएको हो।

विद्यालयको समय अवधिमा कुनै विद्यार्थीलाई दुर्घटनामा चोटपटक लागेमा सम्बन्धित विद्यालयको सिफारिसका आधारमा अधिकतम रु १ लाखसम्मको उपचार खर्च उपलब्ध गराइने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। “सामुदायिक विद्यालयहरू सबै दृष्टिकोणले सुरक्षित छन्। यस्तो राहत कोषले विशेष गरी विपन्न अभिभावकलाई ठूलो सहयोग पुर्‍याउनेछ, साथै विद्यालयप्रति अभिभावकहरूको विश्वास पनि बढ्नेछ,” उनले भने।

यसैबीच, नगरपालिकाले सामाजिक सुरक्षा सञ्जालभित्रका समूहहरूप्रति समेत ध्यान दिएको छ। अपाङ्गता भएका व्यक्ति, अति विपन्न नागरिक, जेष्ठ नागरिक तथा सूचीकृत किसानलाई नगरभित्रका दुईवटा अस्पताल—चिसापानी अस्पताल र शहीद स्मृति सामुदायिक अस्पताल, चौपत्ताबाट—निशुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।

उनीहरूलाई सम्पूर्ण ल्याब परीक्षण समेत निशुल्क गरिनेछ। यो कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको छ।  यसका अतिरिक्त, नगरपालिकाले मोतियाबिन्दु पीडित नागरिकहरूका लागि निशुल्क शल्यक्रिया सेवाको व्यवस्था पनि मिलाएको छ। परासीस्थित विनोद–निता कँडेल आँखा अस्पतालमा सम्बन्धित वडाको सिफारिस प्राप्त गरेपछि शल्यक्रिया निःशुल्क गरिनेछ। यसका लागि रु ५ लाख विनियोजन गरिएको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *