पानी नपरेपछि नवलपुरका स्थानीयद्वारा संसारीमाईको पूजा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कावासोती । लामो समयसम्म पानी नपरेपछि नवलपुर कावासोतीका स्थानीयले सामूहिक पूजा गरेका छन् ।  जिल्लाको कावासोती नगरपालिका ३ मा सामूहिक रूपमा संसारीमाईको पूजा गरिएको हो । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि संसारीमाईको पूजा गरिएको हो ।

स्थानीय मैना श्रेष्ठले वैशाखको आधा महिना जाँदा समेत यहाँ पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै संसारीमाईको पूजा गरेको बताउनुभयो । विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्ने गरिँदै आएको र शनिबार संसारीमाईको पूजा गरेको बताउनुभयो ।

यस संसारीमाईको पूजाआजा गर्दा सुरुमा गाउँको तर्फबाट एउटा पाठो बलि दिने गरिन्छ । लामो समयसम्म खडेरी परेकाले बलि दिएमा पानी पर्ने जनविश्वास रहेको छ । गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको अन्नबाली सुक्दै जान थालेकाले पूजा गरिएको सन्तोषी घर्तिले बताउनुभयो ।

परापूर्व कालदेखि नै लामो समय पानी नपरी खडेरी हुँदा देवतालाई पूजा गर्दा पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत् रहेको प्राध्यापक शालिकराम कोइरालाले बताउनुभयो । समय अनुसार परिवर्तन भएपनि परापूर्वकालदेखि गर्दै आएको संस्कृति अनुसार पूजा गर्ने प्रचलनलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *