नयाँ सरकार गठनको लागि लुम्बिनीमा एमालेको पहल सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेले नयाँ सरकार गठनको लागि पहल सुरू गरेको छ। एमालेले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रिया सुरू गरिएको जानकारी प्रदेश प्रमुखलाई बुझाएको छ।

उक्त पत्र बुझ्दै उपसचिव अर्यालले प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउने र प्रदेश प्रमुखको निर्देशन अनुरुप आवश्यक कागजात तयार पारिने बताइन्। एमाले प्रमुख सचेतक चौधरीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई राष्ट्रिय सहमतिको सरकार गठनका पहल सुरू भएपछि प्रदेश प्रमुखलाई औपचारिक रुपमा जानकारी गराइएको बताए ।

संघमा सत्ता समीकरण फेरबदल भएसँगै नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रिय सरकार गठन गर्ने सहमति गरेका छन्। सोही अनुरुप बिहीबार साँझ एमालेले मुख्यमन्त्री महरालाई दिएको समर्थन फिर्ता लिएको थियो। त्योसँगै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि बिहीबार साँझ नै मुख्यमन्त्री महरालाई राजीनामा पत्र बुझाएका थिए।

एमालेले समर्थन फिर्ता गरेपछि अब मुख्यमन्त्री महरासँग १८ जना मात्रै सांसद छन्। नयाँ सरकार गठनका लागि भने एमाले र नेपाली कांग्रेसको मात्र बहुमत पुग्ने देखिन्छ। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार संचालनका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ। लुम्बिनी प्रदेशमा एमालेका २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्।

दुईवटा दलका बीचमा भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिले नेकपा एमालेले र त्यसपछि नेपाली कांग्रेसले गर्ने योजना छ। लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक तथा एकजना स्वतन्त्र सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *