चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर जङ्गली हात्तीको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले हानेको गोली लागेर जङ्गली हात्ती मकुना मरेको छ । हिजो नियन्त्रणमा लिने प्रयास गर्दा आक्रमण गर्न खोजेपछि सुरक्षा टोलीले आत्मरक्षाका लागि गोली चलाउन बाध्य भएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार जङ्गल बाहिर निस्किएर दुःख दिन थालेपछि कोर क्षेत्रतर्फ पठाउने क्रममा गोली प्रहार हुँदा मकुना मारिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र सुरक्षार्थ खटिएको नयाँ गोरखगण ९क० गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।

‘आत्मरक्षाका लागि टोलीले दुई राउन्ड वार्निङ हवाई फायर गरेका थिए । त्यसपछि पनि मकुना थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसाद तर्फ आउँदा त्यहाँ सवार रेञ्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्वीप टोलीले मकुनालाई तीन राउन्ड गोली प्रहार गर्दा केही पर गएर फर्किएर आक्रमण गर्न थालेपछि अर्को एक राउन्ड गोली प्रहार गरेको थियो’ निकुञ्जले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *