कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका तथा नगरपालिकाका दुई ओटा वडाले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई ३ थान एसी र ३ थान पानी फिल्टर सहयोग गरेका छन् । ३ लाख ६ हजार बराबरको साे सामग्री प्रदान गरिएको जनाइएको छ ।
कृष्णनगर नगरपालिकाले १ टन क्षमताका २ ओटा एसी उपलब्ध गराएको छ भने वडा नम्बर १२ काे कार्यालयले डेढ टन क्षमताको १ ओटा एसी सहयोग गरेको छ । यस्तै, वडा नम्बर १ कार्यालयले ३ थान पानी फिल्टर इलाका प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।
सोमबार कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । शाहले इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक इश्वरी लाैडारीलाई हस्तान्तरण गरेेका हुन् ।
नगर प्रमुख शाहले प्रहरी कार्यालयको कार्यसम्पादन र सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बताए । उनलेे स्थानीय सरकार र प्रहरीबीचको सहकार्यले शान्ति सुरक्षा कायम गर्न थप बल पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै वडा अध्यक्ष प्रहलाद यादवले नागरिकको सुरक्षा र शान्ति कायम गर्ने महत्वपूर्ण आधार हो बताए । आगामी दिनमा पनि आवश्यक सहकार्य र सहयोग निरन्तर रहने उनले बताए ।
इलाका प्रहरी कार्यालयले नगरपालिका र वडाकाे यस सहयोगप्रति आभार व्यक्त गर्दै यसले प्रहरी सेवामा सकारात्मक प्रभाव पार्ने जनाएको छ।


