चेतन विष्ट, कपिलवस्तु । बाणगंगा सहित सिङ्गो कपिलवसतुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउने १६ औं अभियान आइतबार देखि सुरु भएको छ । १५ औं पटक हात्तीपाइले फाईलेरियाको औषधि खुवाउँदा पनि निवारण हुन नसकेपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन थालिएको हो ।
बाणगंगामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले हात्तिपाइले विरुद्धको औषधि खाएर अभियानको सुरुवात गर्नुभयो । अभियान सुरु गर्दै सांसद पन्थिले प्रदेशका अन्य ११ वटै जिल्लामा हात्तिपाइले रोगको निवारण हुँदा कपिलवस्तुमा नहुनु लज्जासपद रहेको बताउनुभयो । विभिन्न कारणले गर्दा केहिले औषधि सेवन नगरिदिदा अभियान सफल हुन नसकेको उहाँले बताउनुभयो । सरकारले सुरु गरेको अभियानलाई नागरिकले साथ दिए मात्र अभियान पुर्ण रुपमा सफल हुने उहाँले बताउनुभयो ।


त्यस्तै बाणगंगा नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले यो पटकको हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियानलाई अन्तिम अभियानको रुपमा अगाडि बढाउन नगरपालिका लागिपरेको बताउनुभयो । समाजका शिक्षित, वुद्धिजिवि र पहुच पुगेका व्यक्तिले नै औषधि सेवन नगरिदिदा रोग निवारण हुन नसकेको भन्दै अनावश्यक भ्रम सृजना नगरिदिन आग्रह गर्नुभयो । साथै उहाँले नगरमा यस वर्ष परिक्षण गर्दा हातिपाईले रोग कसैमा नभेटिएको बताउदै नगर यस रोगमा अहिले शुन्य रहेको पनि बताउनु भयो । मेयर अर्यालले औषधिले कुनै असर नगर्ने भएकाले ढुक्क भएर औषधि खान पनि सम्पुर्णलाई आग्रह गर्नुभयो ।


नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्दै १६ औँ पटकको अभियानलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । नगरका प्रत्येक वडा, विद्यालय, स्वास्थ्य चौकि लगायत सबै ठाउँमा गएर स्थानियलाई औषधि खुवाउने बताउनुभयो ।


कार्यक्रममा उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश क्षेत्रीले बोल्दै सबैले आआफ्नो क्षेत्र बाट सहयोग गरे अभियानलाई सफल पार्न सकिने बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो । कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन आजदेखि सुरु भएको छ ।
होराइजन स्कुलमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव घिमिरे, नगरका कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविाका, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चान नगरका अधिकृत भक्तिराम पाण्डेले गर्नु भएको थियो ।



