कपिलवस्तु । कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिँदै खाद्य तथा गुणस्तर नियम उल्लंघन गर्ने पसलहरूलाई कारबाही गर्न थालिएको छ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण उप(डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत निकायहरूको संयुक्त टोलीले पछिल्लो तीन दिनदेखि निरन्तर बजार अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा सुद्धोधन गाउँपालिका–३, लुम्बिनीस्थित पैनारोमा फुड प्रोडक्टलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० परमानन्द घिमिरेका अनुसार यसअघि पटक–पटक निर्देशन दिएर पनि उद्योगले सुधार नगरेपछि कारबाही गरिएको हो।
यसअघि पनि सो उद्योगलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। उद्योग मालिकले व्यवसाय बन्द गर्ने बताएका थिए, तर मंगलबारको अनुगमनमा उद्योग सञ्चालनमै रहेको पाइएपछि थप जरिवाना लगाइएको हो।
यस्तै, लुम्बिनी नजिकै रहेको रिलायन्स पानी उद्योगलाई पनि सरसफाई मापदण्ड पूरा नगरेको भन्दै ३० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बुधबार सदरमुकाम तौलिहवामा सञ्चालनमा रहेका तीन मिठाई पसलमाथि पनि कारबाही गरिएको छ। आनन्द स्वीट्स र जयमा वैष्णव स्वीट्स हाउसलाई २५र२५ हजार रुपैयाँ र मख्खन स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
यी पसलहरूले अत्यधिक रङ्गको प्रयोग, गुणस्तरहीन सामग्रीको प्रयोग तथा सरसफाईको अभाव गरेको पाइएपछि कारबाही गरिएको उप(डिभिजन प्रमुख सरोज खनालले बताए।
यस्तै, शरे बिरयानी कर्नरमा प्रतिबन्धित अण्डा बिक्री गरिएको फेला परेपछि चेतावनी दिइएको छ।
सोमबार गरिएको अनुगमनका क्रममा बहादुरगञ्जस्थित पूजा मिष्ठान्न भण्डार, चन्द्रौटा गौरव स्वीट्स हाउस र शिवलाल बन्जाडे किराना पसललाई १०र१० हजार रुपैयाँ जरिवाना गरिएको थियो। अखाद्य सामग्रीहरू जफत गरी नष्ट गरिएको थियो।
अनुगमनका क्रममा मिठाई पसलहरूले पत्रिकामा मिठाई बेचिरहेको, अत्यधिक रङ्गको प्रयोग गरिरहेको तथा पसलहरू अत्यधिक फोहोर अवस्थामा रहेको पाइएकाले कारबाही गरिएको घिमिरेले बताए।
गोरुसिङ्गे क्षेत्रको अर्घाखाँची चोकका सडकछेउका ठेला व्यवसायहरू अव्यवस्थित पाइएपछि सुधारका लागि १५ दिने समयसीमा दिइएको छ। ती ठेलामा सरसफाईको अभाव, खुला रूपमा पकौडा, सेलरोटी, अण्डा लगायत खाद्य सामग्री बेचिएको पाइएकाले अब फाइबरको सिसा राखेर व्यवस्थित गर्न निर्देशन दिइएको हो। समयसीमा भित्र सुधार नगरे ठेला जफत गरिने चेतावनी दिइएको छ।
अनुगमन टोलीले अहिले व्यवसायीलाई सम्झाएर छाडे पनि सुधार नभए थप कडा कारबाही गरिने जनाएको छ। ‘स्वास्थ्य नै धन भएकाले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन,’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले भने।
साथै, उपभोक्ताहरुलाई पनि सचेत रहन आग्रह गरिएको छ।


