कपिलवस्तुमा औलो रोगी: स्थानीय भन्दा आयतित बढी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्षमा ३३ जना औलो रोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार ३३ जना औलो रोगी भेटिएका हुन् । निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) कपिलवस्तुमा स्थानीय भन्दा आयतित बढी भएको तथ्यांक पाइएको छ ।

जिल्ला अस्पतालका औलो रोग फोकल पर्सन उदयचन्द्र चौरसियाका अनुसार एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । औलो रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा परजीवि पनि चुस्छ र लामखुट्टे संक्रमित हुन्छ । त्यही संक्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा औलो (मलेरिया) सर्छ ।

स्थानीय रुपमा औलो रोग सार्ने लामखुट्टे नभए पनि समुदायमा बिरामीमा औलो रोग भएमा वा त्यो बिरामी आफ्नो घर छोडी टाढा जाँदाको अवस्थामा संक्रमण भएर आएको अवस्थालाई आयतित औलो भनिन्छ । कपिलवस्तुमा आयातित २४ जनामा संक्रमण फेला परेका फोकल पर्सन चौरसियाले बताए ।

कपिलवस्तु नगरपालिकामा आयातित संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आयातित केशमा ७० प्रतिशत भन्दा बढि छिमेकी मूलुक भारतका मुम्बई भिमिन्डी कल्यान, गुजरात, दिल्ली लगायतका स्थानबाट आएका नेपालीहरुमा संक्रमणदर बढि देखिएको उनको भनाइ छ ।

गतबर्ष कडा खालका २ जना र ११ जना नरम खालका संक्रमित गरि १३ जनामा मलेरिया रोगी फेला परेका थिए । चालु आर्थिक बर्षको ९ महिनामा मलेरिया संक्रमितको संख्या झण्डै तेब्बर बढेर गएको छ । कपिलवस्तुमा चालु आर्थिक वर्षमा ५ हजार ७ सय ६७ जना बिरामीहरूको औलो रोग सम्बन्धी रगत परीक्षण गरिएको छ ।

औलो रोग परीक्षण तथा उपचारका लागि कपिलवस्तुका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरूमा निःशुल्क व्यवस्था रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विश्व औलो रोग दिवसका अवसरमा औलो विरुद्धको लडाइँलाई तीव्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं भन्ने अभियान सञ्चालन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले, सरकारको सन् २०२५ भित्र औलो रोग उन्मूलन अभियानलाई सफल बनाउन, औलो जोखिम क्षेत्र पहिचान गरी रगत परीक्षणका कार्यक्रमहरू सञ्चालन गरेको, सीमा नाका तथा समुदायमा सचेतना अभियान सञ्चालन गरेको, जोखिम क्षेत्रहरूका झुल वितरण तथा कीटनाशक औषधिहरूको प्रयोग बढाएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख डा.नारायण चौधरीले बताए । -पालिका पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *